arrow

दुई दिनमा दुई सय नक्कली परीक्षार्थी, ठूलै गिरोह रहेको शंकामा अनुसन्धान 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ चैत २३ बिहिबार
SEE_news.JPG
तस्बिर – फाइल ।

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका १ सय ९९ जना नक्कली विद्यार्थीलाई पक्राउ गरेको छ । बिहीबार सामाजिक शिक्षाको परिक्षा दिने क्रममा मोरङको विभिन्न विद्यालयबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

दाहालका अनुसार पछिल्लोपटक केराबारी गाँउपालिकाको–७ मा नक्कली विद्यार्थीको संख्या बढेको हो। बिहान ४० जना पक्राउ गरिएको भए पनि केराबारीस्थित सार्वजनिक मावीमा नक्कली विद्यार्थीको संख्यामा ८७ जना थप पक्राउ परेका हुन् । प्रवक्ता दाहालका अनुसार सामाजिक शिक्षातर्फ परिक्षा दिने क्रममा सार्वजनिक माविमा १ सय २७ जना विद्यार्थीलाई पक्राउ गरिएको हो।

२ सय ९८ जना विद्यार्थीले परीक्षा दिँदै गर्दा करिब आधासंख्यामा १ सय २७ जनालाई प्रहरीले पक्राउ गरेको हो। त्यसैगरी २ सय ९२ जना विद्यार्थीले परीक्षा दिँदै गरेको ग्रामथान गाँउपालिकास्थित सरस्वती मावीमा ५२ जना विद्यार्थी नक्कली फेला परेको प्रवक्ता दाहालले जानकारी दिए। 

सुन्दरहरैंचा नगरपालिकाको जनता मावी पचामा ३ सय ११ जना विद्यार्थीमध्ये २० जना नक्कली परीक्षार्थी रहेको उनले बताए । हाल पक्राउ परेकाहरुलाई अनुसन्धानमा राखिएको छ ।

बुधबार ग्रामथानकै सरस्वती मावीमा खुल्लातर्फ विज्ञान विषयको परीक्षाका क्रममा धरानकी एक युवतीलाई नक्कली परीक्षार्थीको रुपमा पक्राउ गरिएको थियो ।

 प्रवक्ता दाहालका अनुसार परीक्षा दिँदै गर्दा ठूलो संंख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। प्रवेश परीक्षा पत्रमा सक्कली विद्यार्थीको फोटो निकालेर नक्कली विद्यार्थीको फोटो टाँसिएको अवस्थामा फेला परेको थियो । सोही क्रममा प्रहरीले शंका लागेर विद्यार्थीका आमाबुवाको नाम सोध्ने क्रममा जवाफ दिन नसकेको प्रहरीको भनाइ छ ।

प्रवक्ता दाहालले नक्कली परीक्षार्थीका लागि गिरोह नै परिचालित हुन सक्ने आशंकासहित प्रहरीले अनुसन्धान गर्दै आएको जानकारी दिए । 

बुधबार र बिहीबार गरी हालसम्म मोरङका विभिन्न परिक्षा केन्द्रबाट २ सय जना नक्कली परीक्षार्थी पक्राउ भइसकेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ