arrow

लहरो तान्दा पहरो थर्कदै

एसईईका नक्कली परीक्षार्थी छुटाउन सभामुखदेखि नेतासम्मको दवाब, कन्सल्टेन्सीको भागाभाग

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ चैत २४ शुक्रबार
see-fake-students-2079.jpg

मोरङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का नक्कली परीक्षार्थी छुटाउनका लागि सभामुखदेखि नेता तथा कार्यकर्ताहरूले नेपाल प्रहरीलाई दबाब दिन थालेका छन् । बुधवार र बिहीबार दुई सय भन्दा बढी नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रहरीले मोरङका तीन वटा विद्यालयबाट एसइई दिने २०१ विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना, झोराहाटस्थित सरस्वती माध्यमिक विद्यालय केन्द्रबाट ५२ जना र सुन्दरहरैँचाको जनता माध्यमिक विद्यालय केन्द्रबाट २० जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । 

बुुधबार सरस्वतीबाट थप दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । विद्यार्थीलाई छुटाउन प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको सचिवालय तथा मञ्च सम्बद्ध सङ्घीय लिम्बुवानका अध्यक्ष कुमार लिङदेनले नक्कली परीक्षार्थीलाई छुटाउन दबाब दिएको प्रहरीले जनाएको छ । 

सभामुखको घिमिरेले स्वकीय सचिवमार्फत छुटाउन दबाब दिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । कुमार लिङदेनले भने इलाका प्रहरी कार्यालय बेलबारीमा बिहीबार राति अबेरसम्म बसेर छुटाउन दबाब दिएका थिए । 

एक प्रहरीका अनुसार नक्कली परीक्षार्थी पहिचान पक्षधर भएको र पहिचानको पक्षमा आन्दोलन गर्न असर पर्ने भएको भन्दै लिङदेनले छुटाउन प्रहरीलाई दबाब दिएका थिए । 

ती प्रहरीका अनुसार लिङदेनले हिँड्ने बेलामा प्रहरी अधिकृतहरूलाई तपाईहरूलाई माथिबाट फोन आउँछ भन्दै हिँडेका थिए । 

भागाभाग भए कन्सल्टेन्सी 
नक्कली परीक्षार्थीहरू परिचालन कन्सल्टेन्सीले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘ दैनिक ४ सय देखि एक हजार रुपैयाँसम्म लिएर परीक्षा दिन आएको खुलेको छ’, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख निरीक्षक उदयशमशेर जबराले बताए ।  

जबराले भने, ‘धेरै कन्सल्टेन्सी धरानका छन् । परीक्षा लेख्न आउने धेरै धरान र दमकका छन् ।’ कन्सल्टेन्सीले एक विद्यार्थीबाट ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको छ ।’  

धरानका तीन वटा कन्सल्टेन्सी र उर्लाबारीको एक कन्सल्टेन्सी खुलिसकेको प्रहरीले जनाएको छ । धरान पान मारीको एलिसा कन्सल्टेन्सी, धरानको आचार्य लाइनको प्यासेफिक कन्सल्टेन्सी, धरान १० कै युनिक कन्सल्टेन्सी र मोरङको उर्लाबारीको गुड ह्विल कन्सल्टेन्सीले विद्यार्थीसँग मोटो रकम लिने गरेको खुलेको हो । 

अनुसन्धानमा खुलेका सबै कन्सल्टेन्सीले बोर्ड नै हटाएर बन्द गरेर फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ ।  

शिक्षकको पनि संलग्नता 
खुलातर्फको परीक्षा केन्द्र भएका र नक्कली परीक्षार्थी पक्राउ परेका केन्द्राध्यक्षमाथि नै प्रहरीले अनुसन्धान थालेको छ । सरस्वती माध्यमिक विद्यालयमा दैनिक परीक्षा शुरु हुनुभन्दा एक घण्टा अगाडि नै प्रश्न पत्र विद्यार्थीलाई दिने गरेको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताएका छन् । 

‘कन्सल्टेन्सी, केन्द्राध्यक्ष तथा शिक्षकहरूको समेत संलग्नता देखिएको छ’, एक प्रहरी अधिकृतले भने ‘अहिलेसम्मको अनुसन्धानले धेरै तानिने देखिएको छ ।’ परीक्षा केन्द्र नै किन बेच भएको खुलेको प्रहरीले जनाएको छ ।  
 
पक्राउ परेका नक्कली परीक्षार्थीहरूलाई प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।  पक्राउ परेका नक्कली परीक्षार्थीहरूले दिएका सबै परीक्षा रद्द गरिने जिल्ला शिक्षा समन्वय इकाई मोरङले जानकारी गराएको छ । 

जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले पक्राउ परेका नक्कली परीक्षार्थीहरूले दिएको सबै परीक्षा रद्द हुने बताए ।

कल्पना लिम्बुको परीक्षा लेख्न आएकी सुस्तीमा लिम्बूलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । सुस्तीमालाई नातामा काका पर्ने शरण लिम्बूले परीक्षा लेख्न लगाएका थिए । कल्पनालाई भने सुस्तीमाले नचिन्ने गरेको खुलेको प्रहरीले जनाएको छ । 

‘अधिकांश नक्कली विद्यार्थीले सक्कली विद्यार्थीलाई चिन्दैनन्’ इन्स्पेक्टर जबराले भने ‘थप अब खुल्दै जान्छ ।’ 

पक्राउ परेकाहरूलाई इलाका, प्रहरी कार्यालय बेलबारी, लेटाङ,उर्लाबारी, रंगेली, सिजुवा र जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान गरिरहेको  छ ।

कानूनअनुसार शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ (ङ) को देहाय (क) अरुको तर्फबाट परीक्षा दिएमा, (च) परीक्षाको मर्यादा भंग हुने अन्य कुनै कार्य गरेमा ऐ) १ ऐनको उपदफा क बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ