arrow

कोलकाताको सनसनीपूर्ण जित, रिंकु सिंहले अन्तिम ओभरमा हाने पाँच छक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
rinku-singh-ipl-kolkatta.jpg
रिंकु सिंह

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनसनीपूर्ण जित हासिल गरेको छ । कोलकाताले साविक विजेता गुजरात टाइटान्समाथि सनसनीपूर्ण ३ विकेटको जित हासिल गरेको हो । 

आइतबार बेलुकी अहमदाबादमा भएको खेलमा हार्दिक पाण्डेयाको अनुपस्थितिमा कप्तानी गरेका राशिद खानले चौथो ओभरमा ह्याट्रिक लिएर जित नजिक पुगेको भए पनि कोलकाताका रिंकु सिंहले अन्तिम ओभरमा आईपीएलकै इतिहासको सबैभन्दा बढी रन बनाएसँगै जित दिलाएका हुन् । 

२०५ रनको कठिन चुनौती पछ्याएको कोलकाताले अन्तिम बलमा रिंकुको छक्कासँगै ३ विकेटको जित हासिल गरेको हो । रिंकुले अन्तिम ओभरका अन्तिम पाँच बलमा पाँच छक्का प्रहार गरेका थिए । रिंकुले २१ बलमा ६ छक्का र १ चौकासहित अविजित रहँदै ४८ रन बनाए । 

त्यसअघि भैंकटेश ऐयरले ४० बलमा ८३ तथा कप्तान नितिश नाराइनले २९ बलमा ४५ रन जोडे । 

राशिद खानले ३ विकेट लिए । खानको ह्याट्रिक यो सिजनको पहिलो ह्याट्रिक हो । तर उनको ह्याट्रिक छायाँमा गयो । रिंकुले सबै रेकर्ड तोडिदिए । 

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेटको क्षतिमा २०४ रन बनाएको थियो । गुजरातको यो दुई रन पार गरेको पहिलो पटक थियो । विजय शंकरले २४ बलमा अविजित रहँदै ६३ तथा साइ सुदर्शनले ३८ बलमा ५३ रन बनाए । त्यस्तै सुभमन गिलले ३१ बलमा ३९ रन बनाए । सुनिल नाराइनले ३ विकेट लिए । 

यो नतिजासँगै गुजरातले पहिलो हार बेहोरेको छ । गुजरात ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा झरेको छ । कोलकाता ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ । 

राजस्थान रोयल्स ३ खेलबाट ४ अंकबाट शीर्ष स्थानमा रहेको छ । तेस्रोमा रहेको लखनउ सुपर जाइन्टसको ३ खेलबाट ४ अंक नै रहेको छ । 

त्यस्तै ३ खेलबाट ४ अंकको चेन्नई सुपर किंग्स पाँचौं, २ खेलबाट ४ अंकको पञ्जाब किंग्स छैटौं स्थानमा छ । रोयल च्यालेन्जर्स बैंगलोरको २ खेलमा २ अंक छ । 

मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद अंकविहीन छन् । 



नयाँ