- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ । हैदराबादले आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा पन्जाब किंग्सलाई ८ विकेटले हराएको हो ।
हैदराबादमै भएको खेलमा पन्जाबले पहिलो हार व्यहोर्दा हैदराबादले पहिलो जित दर्ता गरेको हो । पन्जाबले दिएको १४४ रनको लक्ष्य हैदराबादले १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
हैदराबादको जितमा राहुल त्रिपाठीले ४८ बलमा १० चौका र ३ छक्कासहित अविजित ७४ रन बनाए । कप्तान एडेन माक्ररमले २१ बलमा ६ चौकासहित अविजित ३७ रन बनाए । तेस्रो विकेटका लागि राहुल र माक्ररमले अविजित १ सय रनको साझेदारी गरेका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन बनायो ।
पन्जाबका ओपनर कप्तान शिखर धवनले ६६ बलमा १२ चौका र ५ छक्कासहित अविजित ९९ रन बनाए । तर उनलाई साथ दिने अरु कोही भएनन् । दोस्रो सर्वाधिक रन साम करनले १५ बलमा २२ बनाएका थिए । बाँकी ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
हैदराबादका मयंक मारकन्डेले ४ तथा उमरान मलिक ,मार्को यानसनले समान २–२ विकेट लिए ।
आजको खेल
आज एउटामात्र खेल हुँदैछ । आज रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जाइन्टससँग खेल्नेछ ।
खेल बेलुकी ७ः४५ बजे बैंगलुरुमा शुरु हुनेछ ।
अंक तालिका
राजस्थान रोयल्स ३ खेलबाट ४ अंकबाट शीर्ष स्थानमा रहेको छ । कोलकाता नाइट राइडर्स ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ ।
तेस्रोमा रहेको लखनउ सुपर जाइन्टसको ३ खेलबाट ४ अंक नै रहेको छ । गुजरात टाइटान्स ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा झरेको छ ।
त्यस्तै ३ खेलबाट ४ अंकको चेन्नई सुपर किंग्स पाँचौं, २ खेलबाट ४ अंकको पञ्जाब किंग्स छैटौं स्थानमा छ । रोयल च्यालेन्जर्स बैंगलोरको २ खेलमा २ अंक छ ।
अंकको खाता खोलेको हैदराबाद ३ खेलमा २ अंकसहित आठौं स्थानमा छ ।
अब पाँच पटकको विजेता मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सले मात्रै खाता खोल्न बाँकी छ । मुम्बई २ तथा दिल्लीले ३ खेल खेलिसकेको छ ।