- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलोरमाथि सनसनीपूर्ण जित हासिल गरेको छ । लखनउ अन्तिम बलमा नतिजा निकाल्दै १ विकेटले विजयी भएको हो ।
यो जितसँगै लखनउ अंक तालिकाको शीर्ष स्थानमा पुग्नसमेत सफल भएको छ । जितका लागि २१३ रनको यो सिजनकै सबैभन्दा बढी लक्ष्य पाएको लखनउले ९ विकेट गुमाएर २० ओभरमा जित हासिल गरेको हो ।
लखनउका लागि मार्कस स्टोइनसले ३० बलमा ६५ तथा निकोलस पुरनले १९ बलमा ६२ रन बनाए । पुरनले १५ बलमा अर्धशतक पूरा गरेर यो सिजनकै सर्वाधिक कम बलमा अर्धशतक बनाउने रेकर्डसमेत लेखाएका छन् ।
बैंगलोरका लागि मोहम्मद सिराज र वाइने पार्नेलले ३–३ विकेट लिए ।
त्यस अगाडि बैंगलोरले शानदार ब्याटिङ गर्दै २ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । यो योगफल जारी सिजनकै सर्वाधिक रन थियो । कप्तान फाफ डु फ्लेसिसले अविजित रहँदै ७९ रन बनाए । त्यस्तै विराट कोहलीले ६१ र ग्लेन म्याक्सवेलले ५९ रन बनाए ।
फ्लेसिसले यो सिजनकै सर्वाधिक लामो छक्कासमेत प्रहार गरे । उनले ११५ मिटर टाढा प्रहार गरेका थिए ।
अंक तालिका
लखनउ ४ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । ४ अंकसहित राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, गुजरात टाइटान्स, चेन्नई सुपर किंग्स र पंजाब किंग्स क्रमशः दोस्रोदेखि छैटौं स्थानसम्म रहेका छन् ।
बैंगलोर र सनराइजर्स हैदराबादले २ अंक बटुलेका छन् ।
मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स अंकविहीन छन् ।
आजको खेल
आजको खेलमा मुम्बई र दिल्ली खेल्दैछन् । खेल बेलुकी ७ः४५ बजे दिल्लीमा हुँदैछ ।
यो खेलको नतिजासँगै अंकविहीन हुने आज एकमात्र टिम हुनेछ ।