arrow

पन्ध्र बढी प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
IMG_8453.jpg

काठमाडौं । विदेशी विनियम सञ्चिति १५.२० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्तिम असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्ममा १५.२० प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

जसअनुसार फागुनसम्म विदेशी विनियम सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरमा पुगेको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ८ महिनाको अवधिमा १५.२० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात
त्यस्तै चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो । 

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारततर्फ ३७ दशमलव पाँच प्रतिशत र चीनतर्फ चार दशमलव नौ प्रतिशतले निर्यातमा कमी आएको छ । अन्य मुलुकतर्फको निर्यात छ दशमलव शून्य प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढ्दा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा निर्यातसँगै विदेशी वस्तुको आयातमा समेत कमी आएको छ । गत आवको तुलनामा आयात १९ दशमलव १ प्रतिशतले घटेर रु १० खर्ब ५८ अर्ब ३९ करोडमा सीमित भएको छ । 

    अवधिमा भारतमा १७ दशमलव छ प्रतिशत र चीनमा २१ दशमलव सात प्रतिशतले आयातमा कमी आएको हो । यस्तै, अन्य मुलुकबाट हुने आयातमा समेत २१ दशमलव चार प्रतिशतले कमी आएको छ ।
    
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पञ्ज आइरन, सुन, अन्य स्टेशनरी सामानलगायतका वस्तुको आयात बढ्दा सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएस विलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको हो ।

    निर्याततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ भने आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट कमी आएको उल्लेख छ ।

    समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले कमी आई  रु ९ खर्ब ५३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा निर्यात(आयात अनुपात नौ दशमलव नौ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव तीन प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ८५ अर्ब १२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु एक खर्ब ४७ अर्ब तीन करोड बराबरको भएको थियो ।

मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा
चालु आर्थिक वर्ष २०७९–८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । 

राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय  स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलवत ४४ प्रतिशत पुगेको छ । जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा बढी हो । 

चालु आवमा मुद्रास्फीति सात प्रतिशतभन्दा न्यून विन्दुमा राख्ने सरकारको लक्ष्य छ । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५ दशमलव तीन प्रतिशत र अमेरिकी डलरमा १४ दशमलव आठ प्रतिशतले बढेको छ । 

यही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा कूल विदेशी विनिमय सञ्चिति रु १४ खर्ब एक अर्ब २१ करोड बराबर रहेको छ । 

अहिलेको विदेशी विनिमय सञ्चितिले नौ दशमलव चार महिनाको वस्तु तथा सेवा धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । आठ महिना अवधिमा सङ्घीय सरकारको खर्च रु सात खर्ब ७९ अर्ब २३ करोड र राजस्व परिचालन रु पाँच खर्ब ८२ अर्ब ७७ करोड बराबर रहेको छ । फागुन मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय पाँच दशमलव तीन प्रतिशतले बढेको छ । 

वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय नौ दशमलव एक प्रतिशतले बढेको हो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन पाँच दशमलव पाँच प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कबाट देखिन्छ । 

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १० दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव एक प्रतिशत बराबर हो । फागुन मसान्तसम्ममा आयात १९ दशमलव एक प्रतिशतले, निर्यात २९ दशमलव एक प्रतिशतले र कूल वस्तु व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले घटेकोछ ।

IMG_8453.jpg
IMG_8507.jpg
IMG_8481.jpg
IMG_8495.jpg
IMG_8511.jpg
IMG_8483.jpg
IMG_8494.jpg
IMG_8456.jpg
IMG_8505.jpg
IMG_8451.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ