- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तनहुँका नेता गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेका छन् । जोशीले बुधबार प्रेस वक्तव्य जारी गर्दै कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको वार्ता झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको भन्दै वार्ता सकिएको बताएका हुन् ।
केही दिन अघि कांग्रेसले कारबाही फुकुवाको निर्णय गरेपछि नेता जोशीले आफूलाई उक्त निर्णय मान्य नहुने बताएका थिए । उनले चुनावको मुखमा भ्रम छर्ने उद्देश्यले कारबाही फुकुवा गर्नुको कुनै औचित्य नभएको बताएका हुन् ।
तनहुँ जिल्ला क्षेत्र नं. १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार लाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र अपमान गर्ने खालको दस्ताबेज भएको उनले बताएका छन् ।
वैशाख १० मा हुने उपनिर्वाचनमा जोशी समूहले उम्मेदवारी नदिएकोले मतदाता मतदान गर्न स्वतन्त्र रहेको पनि गोविन्दराज बताउँछन्। आगामी वैशाख १० गते तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नौ जना प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।
जोशीले अबको हाम्रो लडाइँ कुनै पनि राजनीतिक विचार भन्दामाथि उठेर पार्टीको झन्डामा सीमित नभएर देश र जनताका लागि हुने बताएका छन् ।
नेपाली कांग्रेस स्वतन्त्र अभियान जोशी समूह तनहुँ (२०७९ )
मिति २०७९ । १२ । २९
प्रेस वक्तव्य
नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली कांग्रेस सँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ । नेपाली कांग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरेको अवस्थामा क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते तनहुँ जिल्ला क्षेत्र नं. १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार लाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ । जसले गर्दा सो वक्तव्यलाई हामीले अस्वीकार गरेको छौ । गोविन्द राज जोशी समेतको कारबाही फिर्ता भयो आदी कुरा भनि नेपाली कांग्रेसद्वारा गरिएको प्रचार विल्कुल झूठोहो । उक्त वक्तव्यले नेपाली कांग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झाएको महसुस हामीले गरेका छौँ ।
जहाँ सम्म आगामी वैशाख १० गते सम्पन्न हुने उप-निर्वाचनको सन्दर्भ रहेको छ, यसमा हामीले हाम्रो उम्मेदवार खडा गरेका छैनौँ अर्थात् यो उप निर्वाचनमा हाम्रो कुनै आधिकारिक उम्मेदवार छैन । तनहुँ जिल्लामा हामीहरू कुनै पनि दल विशेषको सदस्य नभएकोले हामी स्वतन्त्र छौँ र स्वतन्त्र रही रहने छौँ । नेपाली कांग्रेस पार्टीले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छल–कपट निर्वाचनको परिणामपछि स्पष्ट हुनेछ । यस विषयमा अहिले हाम्रो कुनै टिप्पणी छैन । वार्ताको क्रममा २०४७ सालको निर्वाचनपछि धेरै इमानदार साथीहरू पार्टीबाट विभिन्न कारणले अलग्गिएर बसेका छन् । आज नेपाली काँग्रेस पार्टीलाई बलियो बनाउन र अहिलेको चुनौती सामना गर्न यी सबैको सहयोगको खाँचो छ भन्ने कुरा हामीले महसुस गरेका छौ । पार्टीबाट विभिन्न कारणले अलग्गिएका पार्टीका साथीहरूलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाऔँ भन्ने हाम्रो धारणा थियो र अहिले पनि छ । तनहुँ जिल्लाको मात्र समस्या समाधान गर्न नचाहने कांग्रेस नेतृत्व यो बृहत् कुरामा सहमत हुने कुरै भएन । त्यसैले उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ।
जहाँसम्म मतदानको प्रश्न छ यो उप-निर्वाचमा हाम्रो आधिकारिक उम्मेदवार नभएता पनि प्रजातन्त्रमा विश्वास गर्ने व्यक्तिले मतदान नगर्नु स्वाभाविक नभएको हुनाले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम हुनुहुन्छ । त्यसैले मतदान गर्दा २१औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम , बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहुँ क्षेत्र नं १ का मतदाताहरूलाई अनुरोध गर्दछ ।
अन्त्यमा,
सत्य, न्याय र सामाजिक समृद्धिका लागि हाम्रो लडाइँ सकिएको छैन । जसका लागि हामी सधैँ लडिरहने छौँ । अबको हाम्रो लडाइँ कुनै पनि राजनीतिक विचार भन्दामाथि उठेर पार्टीको झन्डामा सीमित नभएर देश र जनताका लागिहुने छ । किनभने राष्ट्र र राष्ट्रियताभन्दा माथि कुनै पनि राजनीतिक पार्टी हुन सक्दैन । जुन कुरामा न त हाम्रो हिजो विमति थियो न त आज नै ।
जय नेपाल
नेपाली कांग्रेस स्वतन्त्र अभियान जोशी समूहका तर्फबाट
गोविन्द राज जोशी
पूर्व मन्त्री