काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठ आफ्नै स्पष्टीकरणबाट फस्ने पक्का भएको छ । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि उनले त्यो अडियो आफ्नो नभएको दाबी गर्ने क्रममा पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्दै त्यो अडियो तीन महिनाअघिको भएको बताए ।
जबकि उनले यसअघि स्वास्थ्य मन्त्री बन्नका लागि दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि त्यो अडियो आफ्नो नभएको बताएका थिए । तर उनले आफ्नो हैन भनेको अडियो तीन महिना अघिको भएको स्वीकारेसँगै उनी आफ्नै स्पष्टीकरणबाट फसेका छन् ।
यसअघि पनि उनले एक जना यु–ट्युबरसँगको अन्तर्वार्ताका क्रममा आफूले दुर्गा प्रसाईँलाई नचिन्ने तर कसैले आफ्नो मोबाइलको दुरुपयोग गरेर फोन गरेको हुन सक्ने आशंका व्यक्त गर्दै सबैलाई सोच्न वाध्य पारेका थिए ।
गत माघ १ मा प्रसाईंसँग २ करोड रुपैयाँ माग गरेको भनिएको अडियो चैत २६ मा सार्वजनिक भएको थियो । ‘जनवरी, फेब्रुअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको एउटा सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गरिएको हो’, उनले भने ।