arrow

दुई सय रन पार गर्दा पनि जितेन कोलकाताले, हैदराबादले मार्‍यो बाजी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
sunrigers-haidarabad-2023.jpg

काठमाडौं । सनराईजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मा लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार राति इडन ग्राडेनमा भएको खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको हो ।

हैदराबादले दिएको २२९ रनको यो सिजनकै सबैभन्दा विशाल लक्ष्य पछ्याएको कोलकाताले ७ विकेट गुमाउँदै २०५ रन बनायो। दुई सय रन पार गर्दा पनि कोलकाता पराजित भएको हो । 

कोलकाताका कप्तान नितिश राणा र रिंकु सिंहले शानदार अर्धशतक बनाए पनि टिमको हार टार्न भने सकेनन् । कप्तान राणाले ४१ बलमा ५ चौका र ६ छक्कासहित ७५ रन बनाउँदा रिंकु ३१ बलमा ४ चौका र ४ छक्कासहित ५८ रनमा अविजित रहे ।

हैदराबादका लागि मार्को यानसन र मयंक मारकान्डेले समान २–२ विकेट लिए । ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनायो । 

हैदराबादका लागि ओपनर ह्यारी ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्कासहित अविजित सय रनको शतकीय इनिङ्स खेले । 

१३ करोड २५ लाखमा हैदराबादमा आबद्ध भएका इङ्गल्याण्डका युवा क्रिकेटर ब्रुकले आईपीएलमा पहिलो शतक प्रहार गरेका हुन् । यसअघिका तीन खेलमा उनले १३, १३ र ३ रन मात्रै बनाएका थिए । 

कप्तान एडेन माक्ररमले २६ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए । 

कोलकाताका लागि आन्द्रे रसलले ३ तथा वरुण चक्रवर्तीले १ विकेट लिए ।

अंक तालिका 
चौथो चरणको खेल सकिँदै गर्दा राजस्थान रोयल्स, लखनउ सुपर जाइन्टस र गुजरात टाइटान्सले समान ६ अंक बनाएका छन् । 

कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, पंजाब किंग्स र सनराइजर्स हैदराबादको समान ४ अंक छ । 

रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सको समान २ अंक छ । 

दिल्ली क्यापिटल्स भने पुछारमा छ । 
 



नयाँ