arrow

कांग्रेसले गर्‍यो दिनेश कोइरालासहितको कारबाही फुकुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
congress-party-office-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसले कारबाही गरेको चितवनका नेता तथा केन्द्रीय सदस्य दिनेश कोइरालासहितको कारबाही फुकुवा गरेको छ । उपनिर्वाचनको मतदान गर्ने दिन आउन केही दिनमात्र बाँकी रहँदा पार्टी अनुशासन समितिले मंगलबार निर्णय गर्दै कोइरालासहित २०७४ र २०७९ को चुनावका बागी उम्मेदवार तथा उनका प्रस्तावक र समर्थक बसेका सबैको कारबाही फुकुवा गरेको हो । 

केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाले विज्ञप्ति जारी गर्दै चितवन, तनहुँ र बारामा कारबाहीमा परेकाहरुको कारबाही फिर्ता लिएको बताए । 

यसअघि पनि कारबाही फिर्ता लिएको पार्टीले केन्द्रीय सदस्य दिनेश कोइरालाको कारबाही भने फिर्ता लिएको थिएन । मंसिर ४ को निर्वाचनमा कोइराला चितवन–३ बाट वागी उम्मेदवार बनेका थिए । 

‘निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उमेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता बागी उमेदवारका प्रस्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उम्मेदवारको हित विपरीतका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरूको अनुशासनको कारबाही आजैका मितिदेखि लागु हुने गरी फुकुवा गरिएको छ’, विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा कारबाही फुकुवा भएका तनहुँ, चितवन र बारा जिल्लाका नेता कार्यकर्तालाई तनहुँ– १ मा गोविन्द भट्टराई र चितवन–२ का पार्टीका उमेदवार जीतनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा–२ का उमेदवार उपेन्द्र यादवलाई विजयी बनाउनका लागि पर्न भनिएको छ ।



नयाँ