arrow

मुम्बईको लगातार तेस्रो जित, हार्‍यो हैदराबाद

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
rohit-sharma-arjun-tendulkar.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले शुरुआती दुई खेल हारेपछि लगातार तेस्रो जित निकालेको छ ।

मुम्बईले सनराइजर्स हैदाराबादलाई राजीव गान्धी स्टेडियममा १४ रनले पराजित गरेको हो । मुम्बईले दिएको १९३ रनको लक्ष्य पछ्याएको हैदराबादले एक बल खेल्न बाँकी छँदै अलआउट हुँदै १७८ रन मात्र बनायो । 

हैदराबादका लागि ओपनर मंयक अग्रवालले ४१ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४८ रन बनाए । हेनरिक केल्सनले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदा कप्तान एडेन माकरमले १७ बलमा २२ रन बनाए । 

मुम्बईका लागि जेसन बेहरानड्राफ्ट, राइली मेरिडेथ र पियुष चावलाले समान २–२ तथा अर्जुन तेन्दुलकर र क्यामरुन ग्रिनले समान १–१ विकेट लिए । 

अर्जुनले पहिलो विकेट लिएका हुन् । यसअघिको डेब्यु खेलमा भने उनले विकेट लिन सकेका थिएनन् । उनी सचिन तेन्दुलकरका छोरा हुन् । 

मुम्बईको इनिङ्स
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

क्यामरोन ग्रिनले ४० बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित रहँदै ६४ रन बनाए । 

ग्रिनले ३३ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । ग्रिनको आईपीएलमा यो पहिलो अर्धशतक हो ।  

ओपनर इशान किशनले ३१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाउँदा तिलक बर्माले १७ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३७ रन बनाए । 

कप्तान रोहित शर्माले १८ बलमा २८ रन बनाए । 

हैदराबादका लागि मार्को यानसनले २ विकेट लिए । 

अंक तालिका 
राजस्थान रोयल्स ५ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । लखनउ सुपर जाइन्टस, चेन्नई सुपर किंग्स, गुजरात टाइटान्स, पञ्जाब किंग्स र मुम्बईको  समान ६ अंक छ । 

कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादको ४ अंक छ । अंकविहीन दिल्ली पुछारमा छ । 

आजको खेल
आज एउटामात्र खेल हुँदैछ । बेलुकी ७ः४५ बजे राजस्थान र लखनउ भिड्दै छन् । 

खेल जयपुरमा हुँदैछ । 
 



नयाँ