arrow

बिग्रिएको मौसमः हावाहुरीले हवाई उडान प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
dust-kathmandu-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौं । हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ । अपराह्नदेखि शुरु भएको हुरीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । 

उनका अनुसार एक घण्टादेखि निरन्तर चलिरहेको हावाहुरीले आन्तरिकतर्फ उडान ‘डिले’ भएका छन् भने अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका छन् । 

भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज एक घण्टा बढी होल्डमा परेको हो । “वेगले चलेको हुरीले विमानस्थलबाट हुने सम्पूर्ण उडान प्रभावित भएको छ । बीचमा हुरी कम भएकाले आन्तरिक उडानका जहाज अवतरण गरिए पनि पुनः हुरी चलिरहेकाले आन्तरिक उडान स्थगित गरिएको छ । अन्तर्राष्ट्रियका दुई जहाज होल्डमा छन्”, महाप्रबन्धक तिवारीले भने । 
     
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय स्थानमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा अपराह्नपछि हल्कादेखि क्षणिक वर्षा भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ