arrow

नेपालीमा आयो एलन मस्कको बालजीवनी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
elon-musk-book-kathalaya.jpg

काठमाडौं । ट्विटर ‘भेरिफाइड’ भएका प्रयोगकर्ताको अकाउन्टमा राखिएको ‘निलो टिक’ हटेपछि एलन मस्कको चर्चा थप चुलिएको छ । उनी माइक्रोब्लगिङ साइट ट्विटरका सीईओ हुन् । 

केही समयअघि मात्रै उनले ट्विटरको लोगो ‘निलो चरा’ ठाउँमा ‘कुकुर’ राखे । तर भोलिपल्टै उनले त्यसलाई हटाइदिए । यस्तै हालै उनको अर्को कम्पनी ‘स्पेसएक्स’ले बनाएको रकेट परीक्षण उडानका क्रममा विस्फोट भयो । 

अन्तरिक्ष यात्रीलाई चन्द्रमा, मंगल ग्रह वा अन्तरिक्ष अभियानमा लैजाने उद्देश्यले रकेट बनाइएको थियो । यो महात्वाकांक्षी परियोजना असफल भए पनि उनले हार मानेनन्, बरु उत्साही भएर भनेका छन्, ‘केही महिनामै हुने अर्को परीक्षणका लागि यसबाट धेरै कुरा सिकेको छु ।’

अनेक प्रयोग गर्न रुचाउने मस्कको चर्चा विश्वमै हरेक दिन भइरहेकै हुन्छ । यिनै अमेरिकी अर्बपति ४७ वर्षीय मस्कको रोमाञ्चक बालजीवनीलाई कथालयले प्रकाशनमा ल्याएको छ । 

अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो । 

जसको अंग्रेजी शीर्षक The Guest From The Future छ भने नेपाली भाषामा ‘भविष्यका पाहुना’ रहेको छ  । 

मूल लेखक लुसिने अलेक्सेनयन हुन् भने थोमस शाहिन्यानले चित्र बनाएका हुन् । नेपालीमा विमलकुमार सुवेदीले अनुवाद गरेको पुस्तकका सम्पादक भिक्टर प्रधान हुन् । 
दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मेका मस्क सानैदेखि जिज्ञासु थिए । ‘संसार कहाँबाट शुरु भएर कहाँ टुंगिन्छ’ भन्ने प्रश्न सोधेर अरूलाई हैरान पार्थे । 

छिटै पढ्न थालेका उनले आठ वर्षको हुँदा त घरको पुस्तकालयमा भएका सबै पुस्तक पढिसकेर इन्साइक्लोपेडिया हेर्न थालिसकेका थिए । 

केवल १२ वर्षको उमेरमा उनी आफैले कम्प्युटर गेम विकास गरे । त्यसलाई बेचेर उनले औषधि कम्पनीको शेयर किने । यसरी कलिलै उमेरदेखि उनको सपनाले मूर्त रूप लिँदै गयो । 

१९८८ मा विद्यालयको पढाइ सकेर उनी उच्च शिक्षाका लागि क्यानडा पुगे । कहिले नातेदारको फार्ममा त अहिले आरावालका रूपमा पनि काम गरे ।

१९९२ मा उनी अमेरिकाको पेन्सलभानियाँ पुगे र भौतिकशास्त्र र अर्थशास्त्रको अध्ययनमा लागे । भाइसहित उनले ‘जिप २’ इन्टरनेट कम्पनी स्थापना गरे । पछि उनीहरुले कम्पनी बिक्री गरे । मस्कको भागमा २ करोड २० लाख डलर हात पर्यो, जतिबेला उनी २७ वर्षका मात्रै थिए । पछि उनी ‘पे–पाल’को सहसंस्थापक बने । 

उनले २०११ मै कुनै पनि बेला मानिसलाई मंगल ग्रहमा पठाउने वाचा गरेका थिए । त्यो प्रयास उनले थालिसकेका छन् । २०१८ उनले अन्तरिक्षमा पठाइएका मध्ये सबैभन्दा शक्तिशाली यान ‘फाल्कन हेभी’ मंगलग्रह पठाएका थिए । 

पुस्तकमा एलन मस्क सानो छँदाका बानीव्यहोरा, पारिवारिक अवस्था, उनको सिकाइ प्रक्रिया, आफ्नो सपना र त्यसलाई साकार पार्न गरेको संघर्षका बारेमा उल्लेख गरिएको छ । 

यो पुस्तक ६ वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, छलफल गर्न तथा ९ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न सक्नेछन् । नेपाली र अंग्रेजी दुवै भाषामा २८ पृष्ठको दुवै शीर्षकको पुस्तकको मूल्य २ सय ८० रुपैयाँ राखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ