- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लखनउ सुपर जाइन्टस विजयी भएको छ । गएराति मोहालीको मैदानमा भएको खेलमा लखनउले पञ्जाब किंग्सलाई ५६ रनले हरायो ।
पहिले ब्याटिङ गरेको लखनउले ५ विकेटको क्षतिमा २५७ रन बनायो । मार्कस स्टोइनिसले ४० बलमा ७४, कायल मायेर्सले २४ बलमा ५४, निकोलस पुरनले १९ बलमा ४५ तथा आयुश बाडोनीले २४ बलमा ४३ रन जोडे । कागिसो रबाडाले २ विकेट लिए ।
जवाफमा पञ्जाबले १ ओभर खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २०१ रनमात्र बनायो । अथर्व टाइडेले ३६ बलमा ६६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यश ठाकुरले ४, नवीन उल हकले ३ तथा रवि बिस्नोईले २ विकेट लिए ।
आईपीएल इतिहासमा रनको वर्षा
यसपालिको आईपीएलमा ३८ खेल भइसक्दा २० पटक २०० रनको आँकडा पार भइसकेको छ ।
आईपीएलको इतिहासमा अहिलेसम्म ९५० बढी खेल भइसकेका छन् । जसमा ६ पटक २४० रनको आँकडा पार भएको छ ।
लखनउले पञ्जाब विरुद्ध बनाएको यो योगफल सर्वाधिक रनको दोस्रो उच्च हो । यसअघि सन् २००८ को १९ अप्रिलमा चेन्नई सुपर किंग्सले ५ विकेटको क्षतिमा २४० रन बनाएको थियो । जवाफमा कोलकाताले २२२ रन बनाएको थियो ।
सन् २०१८ को १२ मेमा कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्सविरुद्ध ६ विकेटको क्षतिमा २४५ रन बनाएको थियो । जवाफमा पञ्जाबले ८ विकेटको क्षतिमा २१४ रन बनाएको थियो ।
सन् २०१० को अप्रिल ३ मा चेन्नईले राजस्थान रोयल्सविरुद्ध ५ विकेटको क्षतिमा २४६ रन बनाएको थियो । राजस्थानले ५ विकेटको क्षतिमा २२३ रन बनाएको थियो ।
सन् २०१६ को १४ मेमा रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात लायन्सविरुद्ध ३ विकेटको क्षतिमा २४८ रन बनाएको थियो । जवाफमा गुजरातले १०४ रनमात्र बनाउन सकेको थियो ।
सन् २०२३ को अप्रिल २८ मा लखनउले पञ्जाबविरुद्ध ५ विकेटको क्षतिमा २५७ रन बनायो । जवाफमा पञ्जाबले सबै विकेट गुमाएर २०१ रन बनायो ।
आईपीएलको इतिहासमा अहिलेसम्म सबैभन्दा बढी रन सन् २०१३ को अप्रिल २३ मा रोयल च्यालेन्जर्स बेंगलोरले पूणे वारियर्सविरुद्ध ५ विकेटको क्षतिमा २६३ रन बनाएको थियो । क्रिस गेलले ६६ बलमा अविजित रहँदै १७५ रन बनाएका थिए ।
जवाफमा पुणेले ९ विकेटको क्षतिमभा १३३ रनमात्र बनाएको थियो ।
टी–२० अन्तर्राष्ट्रियमा भने अफगानिस्तानले चेक गणतन्त्र विरुद्ध सन् २०१९ को फेब्रुअरीमा ३ विकेटको क्षतिमा बनाएको २७८ रन नै सबैभन्दा बढी हो ।
अंक तालिका
राजस्थान रोयल्स ८ खेलबाट १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । ८ खेलबाट १० अंकसहित लखनउ सुपर जाइन्टस दोस्रो स्थानमा छ । ७ खेलबाट १० अंककै गुजरात टाइटान्स तेस्रो स्थानमा छ । ८ खेलबाट १० अंकको चेन्नई सुपर किंग्स चौथो स्थानमा छ ।
रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलबाट ८ अंकसहित पाँचौं तथा पञ्जाब किंग्स ७ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।
कोलकाता नाइट राइडर्स ८ खेलबाट ६ अंकसहित सातौं तथा मुम्बई इन्डियन्स ७ खेलबाट ६ अंकसहित आठौैं स्थानमा रहेको छ ।
७ खेलबाट सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको समान ४ अंक छ ।
आजका खेल
आज दु्ई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे कोलकाताले गुजरातसँग खेल्दैछ । बेलुकी ७ः४५ बजे दिल्ली र हैदराबाद भिड्दै छन् ।