arrow

घाँटीको ९८ लालको सुनले लियो नीराको ज्यान, यस्तो छ विनोदको कर्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
bonod-bk-crime-suspect.jpg

काठमाडौं । घाँटीमा लगाएको ९८ लालको सुनको सिक्री लुट्नका लागि निरा पाण्डे आचार्यको हत्या भएको पाइएको छ । बागलुङ घर भई काठमाडौंको कपनमा भाडा पसल गरी बस्ने नीरा (निरू) पाण्डे आचार्यको हत्या भएको १० दिनपछि प्रहरीले एक जना अभियुक्तलाई सार्वजनिक गर्दै हत्याको कारण लुटपाट नै रहेको बताएको छ । 

गत बैशाख ७ गते कपन सरस्वतीनगरमा दिउँसो पौने ४ बजे पसलभित्रै छिरेर झापाका विनोद विकले निरु पाण्डे आचार्यको हत्या गरेका थिए । धारिलो हतियारबाट घाइते भएकी निरुलाई शिक्षण अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको थियो ।

प्रहरीले हत्यारालाई समात्न नसकेको भन्दै आफन्तले आन्दोलन गर्न थालेपछि शनिबार राति झापामा पक्राउ परेका विकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो । 

३५ वर्षीय विनोद झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ निवासी हुन् । हाल उनको घर वडा नम्बर १० मा छ भने अस्थायी बसोबास भक्तपुर नगरपालिका १, लोकन्थलीमा छ । 

उनी झापाको बिर्तामोडबाट पक्राउ परेका हुन् । निरुले घाँटीमा लगाएको ९८ लालको सुनको सिक्री लुट्नका लागि अपराधीले उनीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले घटनाको दसी प्रमाणका रुपमा सीसीटीभी फुटेजका केही दृश्यसमेत सार्वजनिक गरेको छ, जसमा अपराधीले प्रयोग गरेको झोला, जुत्ता र रगत लागेको पोशाकसमेत छन् ।

बैशाख ७ गते दिउँसो २ बजे निरुको पसल ‘निरु किचेन’ मा विनोद विक घाँटीमा लगाएको सुनको सिक्री लुट्ने उद्देश्यले सामान किन्ने निहुँमा प्रवेश गरेका थिए । 

तर पसलमा अन्य मानिसहरु आएकाले एटीएमबाट पैसा निकालेर आउँछु भन्दै बाहिरिएका थिए । दिउँसो २ बजेर ४४ मिनेट हुँदा उनी फेरि पसलमा आए । समान किन्ने निहुँमा पसलभित्र छिरेर घटना गराई सुनको सिक्री र काउन्टरमा रहेको १२–१३ सय रुपैयाँसमेत लिएर पसलबाट निस्किए ।

उनी ३ बजेर २ मिनेटमा भित्री बाटोबाट रफ्तार फुटसल हुँदै गोपीकृष्ण हल नजिकै पुगेर टेम्पु चढेर बाटो लागेको प्रहरीको भनाइ छ । दिउँसो ३ बजेर १५ मिनेटमा चाबहिल चोकस्थित एसी कम्प्लेक्सअगाडि ट्याम्पुबाट झरेर मोटरसाइकल चढी अर्को बाटोबाट भागेका थिए । 

१० मिनेटपछि जडीबुटी चोकमा पुगेर अर्को मोटरसाइकल चढेर लोकन्थली आँखा अस्पताल नजिक पुगे । त्यहाँ उनले फ्रुटी किनेर खाए । साँझ ६ बजे सोही एरियामा गाउँको भाइको डेरामा पुगेर बास बसेका थिए । 

बैशाख ७ देखि ११ गतेसम्मको उनको गतिविधि प्रहरीको रेकर्डमा छैन । तर बैशाख १२ गते उनी काठमाडौंको तारकेश्वरस्थित हिलेटोलको पाथीभरा सुनचाँदी पसलमा निरुबाट लुटेको सिक्री लिएर पुगेको प्रहरीको भनाइ छ । विनोदले त्यहाँ ९८ लालको सिक्री ५५ हजारमा धरौटी राखे । बिल विनोद रसाइलीका नाममा बनाए । 

५५ हजार रुपैयाँ लिएर उनी बैशाख १३ गते बनेपा–बर्दिबासको बाटो हुँदै झापा पुगेका थिए । भाइब्रेन्ट क्लबमा बाउन्सरको काम गर्ने उनी शनिबार राति १० बजे झापाको बिर्तामोडबाट इलामतर्फ जाने बसपार्कबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । 

प्रहरीले घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्य नेतृत्वको विशेष टोली, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाको टोलीले अनुसन्धान सुक्ष्म ढंगले अघि बढाएको थियो । पक्राउ पर्नुअघि १७ गते बिहानै भारतको मुम्बई जाने तयारीमा थिए । उता उनले कामको खोजीसमेत गरिसकेको प्रहरीले जनाएको छ । 

प्रहरीकाअनुसार झापा मेचीनगर– १ का ३५ वर्षीयय विनोद विक विवाहित हुन् । उनकी एक छोरी पनि छिन् । विकले यसअघि झापाकै एक क्यासिनोमा बाउन्सरको काम गर्थे । 

बाउन्सरकै रुपमा कार्यरत विनोदलाई क्यासिनोमा जुवा खेल्न लत लाग्यो । क्यासिनो खेल्ने क्रममा उनलाई तीन लाख ऋण पनि लाग्यो। त्यो ऋण तिर्न सकेनन्, ऋणी घरसम्म पुगे, त्यसपछि घरमा विवाद भयो। 

उनी घर बस्न नसक्ने अवस्था भएपछि काठमाडौँ आएका थिए । काठमाडौँ आएपछि उनले चाबहिल क्षेत्रकै एक डिस्कोमा बाउन्सरका रुपमा काम गरे । 

त्यो बेला उनले गोँगबुमा एक कोठा भाडामा लिएर बसेका थिए । पछि कोठा भाडा तिर्न नसकेपछि त्यहाँबाट भागेर साथीकोमा बस्न थाले । त्यसपछि उनले ठमेलको भाइबरेट क्लबमा बाउन्सरका रुपमा काम थालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ