arrow

पोर्चुगलको समुद्री किनारबाट अर्घाखाँचीका भुपाल बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
portugal1.jpg

पोखरा । पोर्चुगलको तोरेस भेद्रासस्थित समुद्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन् । समुद्रको छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका-६, खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन् ।

बुधबार दिउँसो तोरेस भेद्रासस्थित सान्तारिता समुद्री किनारबाट दमासे एक्कासी बेपत्ता भएको सँगै गएका उनका साथी कुशल सुवेदीले जानकारी दिए । 

“हामी तीनजना समुद्री किनारमा बस्ने भनेर गएका थियौँ । मैले र अर्को एकजना साथीले बस्ने ठाउँ मिलाउँदै थियौँ । एक्कासि एकजना पोर्चुगिज नागरिकले तिमीहरुको साथी समुद्रको छालमा पर्यो भन्दै चिच्याए”, घटना सुनाउँदै सुवेदीले भने, “हामीले समुद्रमा हेर्दा भुपाललाई कतै देखेनौँ, किनारमा उसको चप्पल मात्रै देख्यौँ । त्यसपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गर्यौँ ।”

उनी समुद्रमा बेपत्ता भएको विषयमा उनका परिवारलाई जानकारी गराइएको दमासेका आफन्त पर्बता पन्थले बताए ।

उनको खोजबिन गर्न र घटनाको सत्यतथ्य पत्ता लगाउन लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली सङ्घ पोर्चुगललाई आग्रह गरिएको पन्थले बताए ।

बेपत्ता भएका दमासेको समुद्रमा खोजी भइरहेको र हालसम्म नभेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रबिन अधिकारीले जानकारी दिए ।

दमासे वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्षअगाडि पोर्चुगल आएका थिए । उनी तोरेस भेद्रासस्थित एक कृषि कम्पनीमा कार्यरत थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ