arrow

सरकार र निजी क्षेत्रको दूरी घटाउन बिजनेस समिट, चार सय सहभागी हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
nepal-business-summit-2023.jpg

काठमाडौं । अर्थतन्त्रमा चुनौतीहरु बढ्दै गइरहेको सन्दर्भमा सरकार र निजी क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समिट २०२३ आयोजना हुने भएको छ । सरकार र निजी क्षेत्रबीचको दूरी कम गर्दै उद्यमी ब्यवसायी र बैंक, वित्तीय क्षेत्रको मनोबल बढाउन शिखर सम्मेलन आयोजना गरिएको हो । 

संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन०तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा आयोजित सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यता  र विशेष सम्बोधन रहने भएको छ । 

राजधानीमा हालै आयोजित शिखर सम्मेलनबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले उद्योगी, ब्यवसायी र बैंक तथा वित्तीय संस्थाले भोग्दै आएका समस्याहरु समाधानका लागि पहल गर्न र वित्तीय संस्था बारेको भ्रम निवारणका लागि बिजनेस समिट आयोजना गरेको बताए । 

पछिल्लो वित्तीय चुनौतीले उद्योगी ब्यवसायी र बैंक वित्तीय संस्थाबीचको दूरी बढ्दै जाने सम्भावना रहेको बताउँदै गोल्यानले कृषि, पर्यटन, उर्जा, निर्यात क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।  

नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा  टेवा पुर्याउने उद्देश्य राखेको जानकारी गराए । 

यस कार्यक्रम देश भरिका लगभग ४०० जनाको सहभागी हुने अपेक्षा गरिएको गैरेले बताए । सिबिफिनका बरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले उद्ममशीलता र ब्यवसायिक प्रवद्र्धनका लागि बिजनेस समिट आयोजना गरेको बताए । 

सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले सरकार र निजि क्षेत्रबिचको यो शिखर सम्मेलनले अर्थतन्त्रको भिजन डकुमेन्ट तयार गर्ने र आगामी दिनमा यसले जारी गर्ने घोषणा पत्र सरकारको निति, कार्यक्रममा समेटिने विश्वास ब्यक्त गरे । 

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न हुने उक्त सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेसनल फाइनान्स कर्पोरेशन ९आइएफसी० का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम, वरिष्ठ उद्यमी तथा प्रतिनिधि सभाका सदस्य विनोदकुमार चौधरी,  वरिष्ठ अर्थशास्त्री तथा प्रतिनिधि सभाका सदस्य डा. स्वर्णिम वाग्ले,  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोस, एफएनसीसीआईकी पूर्व अध्यक्ष भवानी राणा, सीएनआईका पूर्व अध्यक्ष हरिभक्त शर्मा, म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, वल्ड लिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेशनका प्रबन्ध निर्देशक जोसेफ अल्भान, दराज नेपालका प्रवन्ध सञ्चाल आँचल कुँवरसलगायत विभिन्न देशका राजदूतहरु, अर्थशास्त्रीहरु, उद्यमी–व्यवसायीहरु, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरुले सो कार्यक्रममा सम्बोधन गर्नेछन् । 

शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने,  लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम–व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा  वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगबीच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षा समेत राखिएको छ ।  

शिखर सम्मेलनमा देशभरका उद्यमी ब्यवसायी र बैंक तथा बित्तिय संस्थाका प्रतिनिधि गरी  धेरै ठूलो संख्यामा सहभागीता रहने र सम्मेलनको तयारी सम्पन्न भएको समेत पत्रकार सम्मेलनमा बिविफिनका महानिर्देशक  डा. गोपालप्रसाद तिवारीले जानकारी दिए । 

 डा तिवारीले अर्थतन्त्रमा अहिले देखिएको चुनौती लाई सामान गर्न बिशेष सुझाब सहित को अबधारना पत्र तयार गरिने कुरा बताए ।  

पत्रकार सम्मेलनमा सिविफिनका कार्यसमिति सदस्य महेन्द्र कुमार गोयल र एनबिआईका निर्देशक धर्मराज रेग्मीलगायतको समेत उपस्थीति थियो । 

शिखर सम्मेलनमा टाइटल स्पोन्सर वल्ड लिंक कम्युनिकेशनको रहेको छ भने आइएफसी वल्ड बैंक, डब्लुडब्लुएफ, नविल बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, दराज नेपाल, नेपाल एयरलाइन्स, राष्ट्रिय वाणिज्य बैंक, नमस्ते पे, कामना सेवा विकास बैंक, महालक्ष्मी बिकास बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलगायतले साझेदारी गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ