arrow

बढ्दै कांग्रेस छाड्नेहरु

कांग्रेसका सिपाही पूर्व प्रहरी महानिरीक्षक बोहराले छाडे पार्टी [प्रेस नोटसहित]

देश संकटको भूमरीमा परेका बखतसमेत पार्टी नेतृत्व मौन रहेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
motilal_bohara.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले पार्टी परित्यागको घोषणा गरेका छन् । पछिल्लो समय पार्टीबाट असन्तुष्ट हुँदै पार्टी परित्याग गर्नेहरुको संख्या बढ्दै जाँदा कांग्रेसका पुराना नेता बोहराले पनि पार्टी छाडेको घोषणा गरेका हुन् । 

२५ वर्षदेखि कांग्रेसका क्रियाशील सदस्य रहेर महाधिवेशन प्रतिनिधिसमेत भएका  उनले पार्टी छाड्नु पर्नाको कारण लेखेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । हाम्राकुरालाई प्राप्त नोटअनुसार बोहराले ‘दलका नेताहरुले आफू शक्तिमा छँदा पटक पटक अनेक गलत र अपरिपक्व जनविरोधी निर्णय गरेको देख्दा पार्टी प्रतिबद्ध सदस्यहरुमा विरक्ति उत्पन्न हुने नै भयो’ भन्दै आफूसमेत यसबाट अपवादमा पर्न नसकेको बताएका छन् । 

उनले लेखेका छन्, ‘मैले प्रहरी सेवाको अवकासपछि विगत २५ वर्षदेखि नेकाको सक्रिय सदस्य र महाधिवेशन प्रतिनिधिसमेत भएर प्रतिबद्धताका साथ यथासक्य काम गरेको हुँ । तर देश संकटको भूमरीमा परेका बखतसमेत पार्टी नेतृत्व मौन छ । त्यसो हुनाले अब यस पार्टीसँगको आवद्धता औचित्यहीन सम्झी आजैका मितिदेखि मैले नेका पार्टी परित्याग गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँछु र निष्ठावान सदस्यहरुलाई झोले चप्पलेको रुपमा हेर्ने र व्यवहार गर्ने त्यहाँको चलनको कडा शव्दमा निन्दा गर्दछु ।’

बोहराले अब आफू कुनै पनि पार्टीमा नलागी समाजसेवामा लागिरहने बताएका छन् । पार्टीको संस्थापन निकट रहेका बोहराले यही नोटमार्फत नै पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टीमा कोही जवाफदेही नरहेकाले कसैलाई लगेर राजीनामा बुझाउनु पर्ने आवश्यकता नरहेकोसमेत उनले स्पष्ट पारेका छन् । 

उनले देश संकटको भूमरीमा फसेका बेलामासमेत पार्टी नेतृत्व मौन रहेको भन्दै अब यस पार्टीसँगको आबद्धता औचित्यहीन सम्झी आजैका मितिदेखि मैले कांग्रेस त्यागेको लेखेका छन् । 

बोहराले आफूले आजैका दिनदेखि हलुवा महसुस गरेको बताए । स्वार्थ नभइ समाजसेवाको भाव राखेर राजनीति गरेका बोहराले पार्टीभित्रको खिचातानी, जिम्मेवार रहनु पर्ने व्यक्तिहरु नै गलत कार्यमा संलग्न रहेका, भ्रष्टाचार र आर्थिक अनियमितताले देशलाई गहिरो संकटतिर धकेलेको र र राज्यकोषको दहन भइरहेको लगायतका प्रसङ्गहरु जोडेर सबै पार्टी उस्तै भएको भावसहित अब कुनै पनि पार्टीमा नलाग्ने प्रतिबद्धतासमेत जनाएका हुन् । 

यस्तो लेखेका छन् बोहराले पार्टी छाड्दा प्रेस नोट 
‘के हुन लागेको हाम्रो मुलुकमा ? लूटको धन फुपुको श्राद्ध भन्ने आहान चरितार्थ गरिदै छ । जिम्मेवार रहनु पर्ने व्यक्ति र निकायहरु नै गलतकार्यमा संलग्न भैरहेका छन । महंगी र असुरक्षाभावले  जन– असंतुष्टिले  क्रमैसंग देशव्यापी  आक्रोसको आकार  लिंदै गएको यथार्थ सबैसामु छर्लङ्ग छ । अब कतै त्यो भयावह आन्दोलनको रूप लिने त होइन ? उर्लिदो भ्रष्टाचार र आर्थिक अनियमितताले देशलाई  गहिरो संकटतिर धकेलीरहेको कुरा तथ्याङ्क र विज्ञहरुले बताईरहेका छन्  । तर यी सूचक र यसमा निहित सन्देशप्रति न सत्ताशीन  गठबन्धनका नेताहरु संवेदनशील छन् न त लोकतन्त्रका प्रवलसाझेदार कहलिने प्रतिपक्ष नै जागरुक छ । 

गरिबी र अभावमा पिल्सिएका नेपालीको घाउमा मल्हम लगाउने प्रयत्न गर्नु त कता हो कता राज्यसंयत्र हाँकेर बसेका नेताहरु सिधा – साधा जनतालाई भ्रामक कुराहरुमा पारी झुक्य्याउने र तिनकै नाममा राज्यकोष दोहन गर्ने कार्यमा निर्लिप्त छन । एकातिर योग्यताको  आधारमा कार्यरत सरकारी कर्मचारीले तलब – भत्ता न पाउने अनि पेंसनपट्टा भएकाहरुले  निवृत्तिभरण नपाउने अवस्थाको शृजना गराइरहेको छ भने अर्को तिर  पहिल्यै ’अयोग्य’ घोषित भैसकेकाहरुलाई बाँड्न भनेर राज्यको ढुकुटीबाट बजेट स्वीकृत भएको र यसका लागि सरकारले कार्यविधिसमेत पारित गरिसकेको सूचना समाचार माध्यममा आएको छ । यस्ता जनविरोधी हर्कत हुँदासमेत राज्यसंयन्त्र हाँक्ने जिम्मा पाएका र तिनलाई सघाउने  गठबन्धनदलका नेताहरु गतिहीन र मतिहीन तमासे भएर बसेको देख्दा जनतामा घोर नैराश्य छाउनु स्वाभाविकै हो । 

अयोग्य ठहरिएका पूर्व लडाकुहरु पनि नेपाली नागरिक हुन । उनीहरुलाई सहयोग गर्नु हुदैन भन्ने मेरो मनसाय कदापि होइन । उनीहरुलाई पनि यथायोग्य रोजगार उपलव्ध गराई दिनु राज्यको जिम्मेदारी भित्रै  पर्दछ । तर प्रत्येकलाई  २–२ लाख रुपैयाँ राज्यको ढुकुटी बाट बाँड्ने निर्णयको विषयमा काँग्रेस कोटाका अर्थमन्त्रीले  पनि पानीमाथिको ओभानो हुन खोजेको घटना अझबढी हाँस्यास्पद छ । किन दूधको साक्षी बिरालो हुन परेको ? वास्तवमा पार्टी प्रतिको जनमत बुझेर त्यसको मूल्याङ्कन गरिकन मात्र पाइला चाल्नु पर्नेमा मेरो गोरुको बाह्रै टक्का भन्ने शैलीमा सुरिँदै हिड्नु कति उचित हो ?

यसरी दलका नेताहरुले आफू शक्तिमा छँदा पटक पटक अनेक गलत र अपरिपक्व जनविरोधी निर्णय गरेको देख्दा पार्टी प्रतिबद्ध सदस्यहरुमा विरक्ति उत्पन्न हुने नै भयो । म स्वयं पनि अपवाद हुन सकिन । मैले प्रहरी सेवाको अवकासपछि विगत २५  वर्षदेखि  नेकाको सकृय सदस्य र महाधिवेशन प्रतिनिधिसमेत भएर  प्रतिबद्धताका साथ यथासक्य काम गरेको हुँ । तर देश संकटको भूमरीमा परेका बखतसमेत पार्टी नेतृत्व मौन छ । त्यसो हुनाले अब यस पार्टीसँगको आबद्धता औचित्यहीन सम्झी आजैका मितिदेखि मैले नेका पार्टी परित्याग गरेको व्यहोरा   सम्वन्धित सबैलाई जानकारी गराउँछु र निष्ठावान सदस्यहरुलाई झोले चप्पलेको रुपमा  हेर्ने र व्यवहार गर्ने त्यहाँको चलनको कडा शव्दमा  निन्दा गर्दछु ।

  अन्त्यमा यतिन्जेलको मेरो सकृय सहभागिताका क्रममा मलाई समर्थन र सहयोग गर्ने नेता तथा म जस्तै कार्यकर्ता र विशेषतः मेरा जिल्लावासी साथी, सहयोगी र इष्टमित्रहरु प्रति  हार्दिक आभार  प्रकट गर्दछु । साथै  एक स्वतन्त्र नागरिकको हैसियतमा रहेर समाजसेवामा यथासम्भव योगदान गर्दै रहने प्रण गर्दछु । जयनेपाल ! (नेपाल प्रहरीको अभिवादन ) 
   मोतीलाल बोहरा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ