समाजवादी अर्थव्यवस्थामा उत्पादनमा न्यायोचित वितरण हुन्छ : नेपाल
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
708
Shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक शोषण, अन्याय र विभेदको अन्त्य गरी गरिबी न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।
एकीकृत समाजवादी निकट ट्रेड युनियनको प्रथम राष्ट्रिय अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बुधबार यहाँ आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी अर्थव्यवस्थामा उत्पादनमा न्यायोचित वितरण तथा सबै क्षेत्रका नागरिकलाई समान अवसर प्राप्त हुने हुँदा गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मुलुकको विकास र आर्थिक समृद्धि प्राप्त गर्न राज्यका स्रोत र साधनलाई अधिक उपयोग गरी जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सकिने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री नेपालले उत्पादनको विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको अधिकार तथा हितको रक्षा गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्दै कम्युनिष्ट पार्टीमा सामूहिक हितलाई ख्याल गर्नुपर्नेमा जोड दिए ।
मूलधारको कम्युनिष्ट सिद्धान्तलाई आफ्नो पार्टीले आत्मसात गरेको बताउँदै उनले श्रमिक, मजदुर, श्रमजीवी वर्गको जीवनमा आर्थिक उन्नति भए मात्र देश विकास हुने बताए ।
विष्णु लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको अधिवेशनले सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीको तलब वृद्धि गर्नुपर्नेलगायत माग गरेको छ ।