arrow

कांग्रेसका कँडेल मृत्यु प्रकरणमा रावल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
nepal-police12.jpg

काठमाडौं । कांग्रेसका महासमिति सदस्य  शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेण्ट जीवन रावल रहेका छन् । 

भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । रातिनै उनलाई चितवन ल्याइएको छ । आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले बताए । 

भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन् । सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् ।

रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पण्डितले नेपाल प्रहरी, सिआइबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताए । 

कँडेल मङ्गलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए । नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत थिए । 

कांग्रेससहित उद्योगी व्यवसायीको अगुवाइमा बुधबार र बिहीबार भरतपुरमा बृहत् प्रदर्शन भएको थियो । कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइट नोट’मा लेखेका छन्  ।



नयाँ