गीता प्रेसको शताब्दी वर्ष महोत्सवमा श्रीमद्भागवतमहापुराणको नेपाली अनुवाद विमोचन
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
1k
Shares
काठमाडौं । गीता प्रेस शताब्दी वर्ष महोत्सव काठमाडौंमा पनि मनाइएको छ । बुधबार श्रीमद्भागवतमहापुराणको नेपाली अनुवाद विमोचन गरी शताब्दी वर्ष महोत्सव मनाइएको हो ।
अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखर जीमहाराजको सान्निध्यमा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधान एवं गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा गीता प्रेस शताब्दी वर्ष महात्सव श्रीमद्भागवतमहापुराणको नेपाली अनुवाद विमोचन गरी मनाइएको हो ।
गीता प्रेस शताब्दी वर्ष महात्सवको अवसरमा अन्तर्राष्ट्रिय शाखा नेपालमा आयोजना भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बैशाख २० गते पूजा एवं प्रसाद वितरण गरियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नै अयुतचण्डी महायज्ञमा पुगेका पण्डित एवं भक्तजनहरुलाई प्रसाद स्वरुप कल्याण, मानवमात्रको कल्याणको लागि, नित्य स्तुति एवं प्रार्थना, परलोक और पुनर्जन्म पुस्तक दाताहरुको सहयोगमा निःशुल्क वितरण गरियो ।
यसै अवसरमा बैशाख २६ गते माहेश्वरी भवनमा सुन्दरकाण्ड पाठ एवं प्रसाद वितरण गरियो ।
नेपालमा गीता प्रेस शताब्दी वर्ष महोत्सव कार्यक्रमको समापनका दिन बुधबार श्रीमद्भागवतमहापुराणको नेपाली अनुवाद विमोचन गरी मनाइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त शुभकामना सन्देश वाचन गरी शुभारम्भ गरिएको कार्यक्रम नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको विशेष आतिथ्यतामा भएको थियो ।
गीता प्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षले उपस्थित सम्पूर्ण महानुभावको स्वागत गर्दै गीता प्रेसको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराएका थिए ।
नेपाल नेपालीप्रति अगाध माया गर्ने स्वामी श्रीप्रखरजीमहाराजले विशिष्ट आतिथ्यता प्रदान गरी आशीर्वचन प्रदान गरेका थिए । सो अवसरमा उनलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापिठ, विद्याश्रम, मारवाडी समाजका विभिन्न संघ संस्थाका पदाधिकारी, लब्धप्रतिष्ठित महानुभाव, विद्वतवर्ग, गुरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।