arrow

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने, देउवाद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
congress-nc-party-office-hq.jpg

काठमाडौं । नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । संविधानसभा सदस्य, पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य पुरुषोत्तम बस्नेतको निधनमा सम्मान प्रकट गर्दै कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको हो ।
 
 बैशाख २९, ३० र ३१ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैगरी वैशाख ३१ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने कार्यक्रम निर्धारण गरिएको छ ।

यता कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, कांग्रेसका धरोहर बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान ४ बजे सिफल हाइट, काठमाडौँमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् । लेखक तथा साहित्यकार बस्नेतको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै सभापति देउवाले कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले पुर्‍याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताएका छन् । उनको निधनबाट कांग्रेसले बहुआयमिक व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्वसभापतिसमेत रहेका बस्नेत हाल जननायक बिपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए । राजनीतिकर्मी, साहित्यकार, सम्पादक र समाजसेवी बस्नेत बहुआयमिक व्यक्तित्वको धनी थिए ।
 
लामो समयसम्म कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गरेका बस्नेतले ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई जस्ता महत्वपूर्ण कृति लेखेका थिए । गोरखापत्र संस्थानको पूर्व कार्यकारी अध्यक्ष समेत रहेका बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका थिए । लामो समयसम्म कांग्रेसको प्रेस प्रमुख र पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले कुशलतापूर्वक कार्य गरेका थिए ।
 
 कांग्रेसको इतिहासका जानकार बस्नेतले राजनीतिक जीवन यात्राका विभिन्न समयमा नौ वर्ष जेल जीवनसमेत व्यतित गरेका थिए । उन अत्यन्त शालिन, सादगी र सरल व्यक्तित्वको रुपमा परिचित थिए । नेपालको राजनीतिक एवं सामाजिक रुपान्तरणको अभियानमा संलग्न रहँदै गर्दा अविवाहित रहेर सामेल भए । उनको निधनबाट कांग्रेसले एक असल, अनुभवी, इतिहासका जानकार व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको जनाएको छ ।
 
आजै अपराह्न २ बजे उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ