arrow

रातमा चम्किए सूर्य, मुम्बईले बनायो २१८ रन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
suryakumar-yadav-ipl-mumbai-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्स र गुजरात टाइटान्स भिडिरहेका छन् । जितका लागि गुजरातले २१९ रनको चुनौती पाएको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले वाङ्खेडे मैदानमा ५ विकेटको क्षतिमा २१८ रन बनायो । सूर्यकुमार यादव चम्किँदा मुम्बईले सम्मानजनक योगफल तयार गरेको हो । 

यादवले जारी सिजनमा पहिलो शतक बनाउने क्रममा ४९ बलमा ६ छक्का र ११ चौकाको मद्धतले अविजित रहँदै १०३ रन बनाए । 

त्यस्तै इशान किशानले २० बलमा ३१, विष्णु विनोदले २० बलमा ३० तथा रोहित शर्माले १८ बलमा २९ रन बनाए । गुजरातका राशिद खानले ३० रन खर्चेर ४ विकेट लिए । 

प्लेअफमा पुग्नका लागि मुम्बईलाई यो खेल जित्नैपर्ने दबाब छ । यो खेल जित्दा भने गुजरात क्वालिफायर्समै पुग्ने देखिन्छ । 

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने मुम्बईले तीन खेल जित्दा दुईमा हार बेहोरेको छ । अन्तिम खेल भने मुम्बईले हारेको थियो । 

तर गुजरातले पाँचमध्ये एक खेलमात्र हारेको छ । गुजरात निकै नै फर्ममा देखिएको छ । 

अंक तालिका 
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १२ खेलबाट चेन्नई सुपर किंग्सको १५ अंक छ । 

१२ खेलबाट १२ अंकसहित राजस्थान रोयल्स तेस्रो स्थानमा रहेको छ । ११ खेलबाट १२ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा छ । लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । रोयल च्यालेन्जर्स बेंगलोर, कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १० अंक छ ।   

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ