- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा एमालेको सांगठनिक जीवन निकै ध्वस्त भएको प्रतिवेदनहरु पेश भएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा नेपालका नेताहरुले पेश गरेको प्रतिवेदनमा आधाभन्दा कम सदस्यहरुले संगठित सदस्यता नवीकरण गरेको र यसले एमालेको पार्टी जीवनमा ह्रास आउने क्रम जारी रहेको प्रतिवेदन पेश भएको स्रोतको दाबी छ ।
एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरी भावी योजना तथा पार्टी परिचालनका कार्यक्रम ल्याउने भएको छ । शुक्रबार जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ वटा समूहले दिने सुझावका आधारमा त्यस्ता कार्यक्रम सार्वजनिक गर्न लागेको जानकारी दिए पनि एमालेलाई संगठन निर्माणले भने निराशा बनाएको हो ।
‘केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत ८ समूहमा विभाजित गरेर भएको छलफलमा आ–आफ्ना प्रदेशका के कस्ता कार्ययोजना हुन सक्छन्, ती सुझावका आधारमा वार्षिक कार्ययोजना बन्नेछ’, प्रचार विभाग उपप्रमुख रिजालले भने ।
दोस्रो दिनको बैठकमा आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शंकर पोखरेलले मार्गदर्शन पेश गरेका भए पनि प्रदेश प्रमुखहरुले प्रतिवेदन पेश गरेपछि बैठक निकै बेरसिलो भएको थियो ।
प्रचार विभाग उपप्रमुख रिजालले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिमा रुपान्तरण गर्ने गरि सिंगो पार्टी परिचालन गर्नेगरी कार्ययोजना बनाइने गरी छलफल भइरहेको बताए ।
शुक्रबारको बैठकमा गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गरेपछि सबै प्रतिवेदनमा समूहगत छलफल भएको हो ।
एमाले केन्द्रीय कमिटी बैठक बिहीबारबाट शुरु भएको हो । बैठक शनिबार सकिँदैछ । शनिबारको केन्द्रीय कमिटी बैठकअघि स्थायी समिति बैठक बसेर समूहगत छलफलका निष्कर्षलाई छुट्टयाएर आगामी कार्यक्रममा समेट्ने एमालेको तयारी छ ।
आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गरी गरिएको सबै नीतिहरुमा एमालेको नेतृत्व तहमा सुधार नआएसम्म पार्टी पंक्तिमा उत्साह नआउने नेताहरुले बताएका थिए ।
प्रदेश खारेजीको पक्षमा एमाले नेताहरु
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा एमाले पोलिटव्यूरो सदस्यहरुले संघीयता अन्तर्गतको प्रदेश संरचना खारेजीको प्रस्ताव औपचारिक रूपमै प्रवेश गराएका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा एमाले नेताहरु महेश बस्नेत, गोकुल बाँस्कोटा, देवी ज्ञवाली लगायतले संघीयताबारे पार्टीले पुनर्विचार गर्नुपर्ने र यसबारे बहस चलाउनुपर्ने प्रस्ताव गरेको महेश बस्नेतले बताए ।
मिसन ग्रासरुट अभियान अन्तर्गत सातै प्रदेशबाट पेस भएका प्रतिवेदनमा भएको समूहगत छलफलमा बागमती प्रदेश समूहबाट प्रतिनिधित्व गरेका बस्नेत, बास्कोटा र ज्ञवालीले संघीयताको पुनर्विचार गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित सरकार प्रमुखको व्यवस्था गर्नुपर्ने सुझाव राखेका थिए ।
त्यसैगरी ऐन महर लगायतका नेताहरुले जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् ।