arrow

मुम्बई तेस्रो स्थानमा, गुजरात २७ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
ipl-mumbai-indians-happy.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्स तेस्रो स्थानमा पुगेको छ । शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको गुजरात टाइटान्सलाई पराजित गर्दै मुम्बई तेस्रो स्थानमा पुगेको हो । 

वाङ्खेडे मैदानमा भएको खेलमा मुम्बई २७ रनले विजयी भयो । यो खेल जित्दा क्वालिफायरमा पुग्ने आशा गरिएको गुजरात पराजित भएसँगै मुम्बईलाई सहज भएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा २१८ रन बनायो । सूर्यकुमार यादवले शतक बनाए । उनले ४९ बलमा ६ छक्का र ११ चौकाको मद्धतले अविजित रहँदै १०३ रन बनाए । उनले अन्तिम बलमा छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । यो उनको जारी सिजनको पहिलो शतक हो । उनले चार अर्धशतक पनि बनाएका छन् । गुजरातका राशिद खानले ४ विकेट लिए । 

जवाफमा गुजरातले ८ विकेटको क्षतिमा १९१ रन बनाउन सक्यो । अलराउण्ड प्रदर्शन गरेका राशिद खानले ३२ बलमा अविजित ७९ रन बनाए  पनि टिमलाई जिताउन भने सकेनन् । 

त्यसबाहेक डेभिड मिलरले २६ बलमा ४१ रन बनाए । ५५ रन बनाउँदा ५ विकेट गुमाइसकेको गुजरातमा गतिलो साझेदारी हुन नसकेका कारण टिमले हारको सामना गर्नुपर्यो । मुम्बईका आकाश मड्वालले ३ तथा पियुष चावलाले २ विकेट लिए । त्यस्तै कुमार कार्तिकेयले पनि २ विकेट लिए । 

अंक तालिका 
१२ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १२ खेलबाट चेन्नई सुपर किंग्सको १५ अंक छ । 

१२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । १२ खेलबाट १२ अंकसहित राजस्थान रोयल्स चौथो स्थानमा छ । लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । 

रोयल च्यालेन्जर्स बेंगलोर, कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १० अंक छ ।   

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ