arrow

राजस्थानको खराब रेकर्ड, बेंगलोरको कीर्तिमानी जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
ipl-bangalore-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले खराब रेकर्ड राखेको छ । राजस्थानले आईपीएलको इतिहासमा तेस्रो कम स्कोर बनाएको छ । 

आइतबार रोयल्सले रोयल च्यालेन्जर्स बेंगलोरसँग राजस्थानले मात्र ५९ रन बनायो । यसअघि राजस्थानले सन् २००९ मा ५८ रनमात्र बनाएको थियो । लिगमा सबैभन्दा कम योगफल भने बेंगलोरकै नाममा रहेको छ । सन् २०१७ मा कोलकाता विरुद्ध उसले ४९ रन बनाएको थियो । आइतबार मात्र १०.३ ओभर क्रिजमा टिकेर राजस्थानले ५९ रन बनाएको हो । शिम्रन हेटमायरले १९ बलमा ३५ र जो रुटले १० रन बनाए बाहेक अन्य कसैले दोहोरो स्कोर जोडेनन् । पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । 

१७२ रनको चुनौती पछ्याएको राजस्थान ११२ रनले पराजित भयो । कसिलो बलिङ गरेका राजस्थानका वाइने पार्नेलले १० रन खर्चेर ३ तथा मिचले ब्रासवेल र कर्ण शर्माले २–२ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको बेंगलोरले ५ विकेटको क्षतिमा १७१ रन बनायो । कप्तान पाफ दु प्लेसिसले ४४ बलमा ५५ तथा ग्लेन म्याक्सवेलले ३३ बलमा ५४ रन बनाए । 

जितसँगै बेंगलोरले प्लेअफमा छनोट हुने आशा जीवित राखेको छ । बेंगलोर पाँचौं स्थानमा पुगेको छ भने राजस्थान छैटौंमा झरेको छ । 

दोस्रो खेलमा अहिले चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् । टस जितेर चेन्नईले पहिले ब्याटिङ रोजेको छ । यो खेल जित्दा चेन्नई प्लेअफमा पुग्ने पहिलो टिम बन्नेछ भने हार्दा कोलकाता प्लेअफ सम्भावनाबाट बाहिरिने छ । 

अंक तालिका 
१२ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १२ खेलबाट चेन्नई सुपर किंग्सको १५ अंक छ । 

१२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । १२ खेलबाट १३  अंकसहित लखनउ सुपर जाइन्टस चौथो स्थानमा छ । १२ खेलबाट १२ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर पाँचौं स्थानमा पुगेको छ । १३ खेलबाट १२ अंकको राजस्थान रोयल्स छैटौं स्थानमा छ । १२ खेलबाट १२ अंककै पञ्जाब किंग्स सातौं स्थानमा छ । 

कोलकाता नाइट राइडर्सको १२ खेलबाट १० अंक छ ।   

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ