- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्स निरीह देखिएको छ । महत्वपूर्ण खेलमा मुम्बईले लखनउ सुपर जाइन्टस्सँग अन्तिम समयमा घुँडा टेकेको हो ।
लखनउमा मंगलबार राति भएको खेलमा मुम्बई ५ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको लखनउले ३ विकेटको क्षतिमा १७७ रन बनायो ।
३५ रन जोड्दा तीन विकेट गुमाइसकेको लखनउले त्यसपछि भने विकेट गुमाउनु परेन । मार्कस स्टोइनिसले ४७ बलमा अविजित रहँदै ८९ रन बनाए । कप्तान क्रुनाल पाण्डेया ४२ बलमा ४९ रन बनाउँदा रिटायर्ड हर्ट भए ।
मुम्बईले थुप्रै क्याच छुटाएको थियो । फिल्डिङ निकै फितलो थियो । जासन बेयरेन्डोर्फले २ तथा पियुष चावलाले १ विकेट लिए ।
जवाफमा मुम्बईले ५ विकेटको क्षतिमा १७२ रनमात्र बनाउन सक्यो । पहिलो विकेटका लागि ९.४ ओभर क्रिजमा रहेर ९० रनको उत्कृष्ट साझेदारी गरे पनि मुम्बई निरीह सावित भयो ।
इशान किशनले ३९ बलमा ५९ तथा रोहित शर्माले २५ बलमा ३७ रन बनाए । त्यस्तै टिम टाभिडले १९ बलमा अविजित रहँदै ३२ रन बनाए । यश ठाकुर र रवि बिस्नोईले २–२ विकेट लिए ।
यो खेलको नतिजाले मुम्बईलाई प्लेअफमा पुग्न अन्तिम खेल जित्नैपर्ने भएको छ । लखनउ भने अगाडि लागेको छ । अहिलेसम्म एउटा टिममात्र प्लेअफमा पुगेको छ । तीन टिम छानिन बाँकी छ ।
गुजरात टाइटान्स भने शीर्ष स्थानमा रहँदै प्लेअफ हुँदै क्वालिफायरमा पुगेको छ । अहिलेसम्म हैदराबाद र दिल्ली क्यापिटल्स बाहिरिएका छन् । १० वटामध्ये अब बाँकी सात टिममध्ये तीन टिम प्लेअफमा पुग्नेछन् ।
अंक तालिका
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १३ खेलबाट १५ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।
१३ खेलबाट १५ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ । १२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा छ ।
१२ खेलबाट १२ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर पाँचौं स्थानमा छ । १३ खेलबाट १२ अंकको राजस्थान रोयल्स छैटौं स्थानमा छ । १३ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । १२ खेलबाट १२ अंककै पञ्जाब किंग्स आठौं स्थानमा छ ।
१२ खेलबाट सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ ।
चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।