arrow

सुविधा सम्पन्न वृद्धाश्रम निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ६ शनिबार
baglung-bazar-ceotab.jpg

बागलुङ । बागलुङ नगरपालिका-४ स्थित निरयघाटमा अत्याधुनिक वृद्धाश्रम निर्माण सम्पन्न गरिएको छ । निर्माणाधीन मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण सम्पन्न गरिएको हो । 

नगरपालिकाको समन्वय तथा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम निर्माण गरिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । नगरपालिका र जुम्ली निर्माण सेवाबीच रु दुई करोड ५७ लाख ९० हजारमा ठेक्का सम्झौता गरेर भवन निर्माण सम्पन भइसकेको छ । 

नगरपालिकाले हेला होचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिष्कारमा परेका, स्याहारसुसार नपाएकालाई घरमा जस्तै सेवा सुविधासहित आश्रय दिन निर्माण गर्ने योजनाअनुसार वृद्धाश्रम निर्माण गरिएको खड्काले बताए । वृद्धाश्रम नर्सिङ सेवासहितको हुनेछ । नगरपालिकाले कार्यविधि बनाएर वृद्धाश्रम सञ्चालन गर्ने तयारी थालेको हो । 

“सकेसम्म मानिसलाई वृद्धाश्रम लग्नुहुँदैन तर अहिले वृद्धाश्रम नभई नहुनेजस्तो भइसक्यो”, नगर उपप्रमुख खड्काले भने, “घरमा बस्ने वातावरण नभएका, हेला होचोमा परेका र संरक्षणको अभाव भएकालाई संरक्षण दिने, ध्यान र योग गर्न सिकाउने र खुसी जीवनयापन गर्न सिकाउने मूल उद्देश्य लिएर वृद्धाश्रम सञ्चालन ल्याउने योजनाअनुसार भवन निर्माण गरिएको छ, यो अन्य वृद्धाश्रमभन्दा निकै फरक ढङ्गले निर्माण हुने र वृद्ध-वृद्धा मैत्री हुनेछ ।”

अहिले २० कोठा रहेका एक तलाका दुई सुविधा सम्पन्न भवन निर्माण गरिएका छन् । सबै कोठामा शौचालय र स्नानगृहको व्यवस्था रहेको छ । भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री र सबै सेवा सुविधा एकै तलामा हुनेगरी भवनको निर्माण सम्पन्न भइसकेको नगरपालिकाका इन्जिनियर गौरव शर्माले जानकारी दिए । 

उनले भवन निर्माण सम्पन्न भएर नगरपालिकाबाट हालै अनुगमन सम्पन्न गरिएको र भवन हस्तान्तरण अघिका केही महत्वपूर्ण काम गर्न निर्माण व्यवसायीलाई सुझाव दिइएको बताए । 

निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको पाँच रोपनी जग्गामा भवन निर्माण गरिएको हो । ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा, डाइनिङसहित २० कोठा निर्माण गरिएको हो । उक्त गुठीको जग्गामा मानव सेवाआश्रम निर्माण गर्न सात रोपनी जग्गा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

बागलुङ बजारमा जग्गाको अभाव भएपछि मानव सेवाआश्रम र वृद्धाश्रम दुवैलाई निरयघाटमा रहेको गुठीको जग्गा उपलब्ध गराइएको हो । 

पाँच रोपनी जग्गामा कम्पाउन्ड, पार्क, व्यायाम केन्द्र, ध्यान गर्ने सभाहलसहित तीनवटा तीनतले भवन निर्माण भएर आश्रमले पूर्णता पाउन झन्डै रु १२ करोड खर्च हुने इन्जिनियर शर्माको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ