arrow

मुम्बईले जित्यो, प्लेअफ पुग्न गुजरात–बेंगलोरको नतिजा कुर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
camroon-green-ipl-mumbai.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लिग चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । 

मुम्बईले सनराइजर्स हैदराबादलाई हराएको हो । वाङखेडे मैदानमा आइतबार बेलुकी सम्पन्न खेलमा मुम्बई ८ विकेटले विजयी भएको हो । 

टस हारेर पहिले ब्याटिङ्ग गरेको हैदराबादले ५ विकेटको क्षतिमा दुई सय रन बनायो । 

मयांक अग्रवालले ४६ बलमा ८३ तथा विभान्त शर्माले ४७ बलमा ६९ रन बनाए । दुवैबीच पहिलो विकेटका लागि १४० रनको साझेदारी भएको थियो । 

आकाश मध्वालले ४ विकेट लिए । 

जवाफमा मुम्बईले १८ ओभरमा २ विकेट गुमाएर जित हासिल गर्यो । क्यामरुन ग्रिनले ४७ बलमा अविजित रहँदै १०० रन बनाए ।

दोस्रो विकेटका लागि ग्रिनसँग मिलेर १२८ रनको साझेदारी गर्ने क्रममा कप्तान रोहित शर्माले ३७ बलमा ५६ रन बनाए ।  

यो जितपछि मुम्बई चौथो स्थानमा पुगेको छ । तर लिग चरणको अन्तिम खेलमा अहिले भइरहेको रोयल च्यालेन्जर्स बैंगलोर र साविक विजेता गुजरात टाइटान्सबीचको नतिजापछि मात्रै प्लेअफ समीकरण पूरा हुनेछ । 

यो खेलमा गुजरातले जित्यो भने मुम्बई प्लेअफमा पुग्नेछ । यदि बेंगलोर विजयी भयो भने मुम्बई बाहिरिने छ । बेंगलोर प्लेअफमा पुग्नेछ । 

वर्षाले आउटफिल्ड खराब हुँदा यो खेल ढिला गरेर शुरु भएको छ । खेलमा टस जितेर गुजरातले पहिले बलिङ रोजेको छ । यदि यो खेल पूरा हुन सकेन र दुवै टिमले अंक बाँडे भने मुम्बई प्लेअफमा पुग्नेछ । 

जारी सिजन नै अहिलेसम्मको सनसनीपूर्ण र प्रतिस्पर्धात्मक रह्यो । अन्तिम खेलबाट मात्रै अन्तिम चारको टुंगो लाग्ने छ । 

अहिलेसम्म गुजरात टाइटान्स शीर्ष स्थानमा रहँदै क्वालिफायरमा, चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहँदै क्वालिफायरमा तथा लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ । 

मुम्बई र बेंगलोरको समान अंक भएका अवस्थामा दुवै टिमले जित्दा बेंगलोर नै प्लेअफमा पुग्नेछ । 

अंक तालिका 
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १४ खेलबाट १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।  

१४ खेलबाट १७ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ ।

१४ खेलबाट १६ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा छ । १३ खेलबाट १४ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर पाँचौं स्थानमा छ । 

१४ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स छैटौं स्थानमा छ । 

१४ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । 

१४ खेलबाट १२ अंकको पञ्जाब किंग्स आठौं स्थानमा छ । 

१४ खेलबाट दिल्ली क्यापिटल्सको १० अंक छ । 

१४ खेलबाट सनराइजर्स हैदराबादको ८ अंक छ । हैदराबादले पुछारमा रहेर लिग सकाएको छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ