- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चेन्नई सुपर किंग्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा पुगेको छ ।
मंगलबार राति भएको पहिलो क्वालिफायरमा जित हासिल गर्दै चेन्नई फाइनलमा पुगेको हो । चेन्नईले साविक विजेता गुजरात टाइटान्सलाई पराजित गर्यो ।
चेन्नईको मैदानमा भएको खेलमा गुजरात १५ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले ७ विकेटको क्षतिमा १७२ रन बनायो ।
८७ रनको ओपनिङ साझेदारी भएको खेलमा ऋतुराज गायकवाडले ४४ बलमा ६० तथा डेवोन कन्वेले ३४ बलमा ४० रन बनाए ।
रविन्द्र जडेजाले १६ बलमा २२ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनी भने २ बलमा १ रन बनाएर आउट भए ।
मोहम्मद शमी र मोहित शर्माले २–२ विकेट लिए । जवाफमा गुजरातले सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो ।
शुबमन गिलले ३८ बलमा ४२ तथा राशिद खानले १६ बलमा ३० रन बनाए । दीपक चहर, महीश थिक्शाना, रविन्द्र जडेजा र मथिशा पथिरानाले २–२ विकेट लिए । ऋतुराज प्लेयर अफ द म्याच भए ।
गुजरात २० अंकसहित शीर्ष स्थानमा रहेर र चेन्नई १७ अंकसहित दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेलेका हुन् ।
अब पराजित भएको गुजरातले दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्न पाउने छ ।
आज इलिमिनेटर
आज इलिमिनेटर खेल हुँदैछ । अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेर प्लेअफमा पुगेका टिमले इलिमिनेटर खेल्दैछन् ।
लखनउ सुपर जाइन्टस र मुम्बई इन्डियन्स आमने सामने हुँदैछन् । लखनउ १७ अंकसहित तेस्रो तथा मुम्बई १६ अंकसहित चौथो हुँदै प्लेअफमा पुगेको हो ।
जित्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टिम बाहिरिने छ ।
दोस्रो क्वालिफायर आगामी शुक्रबार खेलिने छ । यो खेल बेलुकी ७ः४५ बजे अहमदाबादमा हुनेछ ।
फाइनल खेल आगामी आइतबार अमहदाबादमै हुनेछ ।
लिग चरणको अंक तालिका
१० टोली सहभागी लिग चरणका सबै खेलबाट २० अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा रह्यो १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रह्यो ।
१७ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो तथा १६ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा रह्यो ।
राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरको समान १४ अंक रह्यो । कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १२ अंक रह्यो ।
दिल्ली क्यापिटल्सको १० तथा पुछारको सनराइजर्स हैदराबादको ८ अंक रह्यो ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।