arrow

मुम्बई क्वालिफायरमा, लखनउ बाहिरियो  

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
ipl-mumbai-indians-2023.jpg

काठमाडौं । पाँच पटकको विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको क्वालिफायरमा पुगेको छ । 

बुधबार राति भएको प्लेअफको इलिमिनेटर खेलमा लखनउ सुपर जाइन्टसमाथि फराकिलो जित हासिल गर्दै मुम्बई दोस्रो क्वालिफायरमा पुगेको हो । 

चेन्नईको मैदानमा भएको खेलमा मुम्बई ८१ रनले विजयी भयो । पहिले ब्याटिङ गरेको मुम्बईले ८ विकेटको क्षतिमा १८२ रन बनायो । क्यामरुन ग्रिनले सर्वाधिक ४१ रन बनाएको इनिङ्समा क्रिस जोर्डन र ऋतिक शोकिन बाहेक सबैले दोहोरो स्कोर जोडे । 

लखनउका नवीन उल हकले ४ तथा याश ठाकुरले ३ विकेट लिए । 

जवाफमा लखनउ १६.३ ओभरमै १०१ रन बनाएर अलआउट भयो । मार्कस स्टोइनिसले २७ बलमा ४० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा प्लेयर अफ द म्याच आकाश मदिवालले ५ रन खर्चेर ५ विकेट लिए । 

क्रिस जोर्डन र पियुष चावलाले १–१ विकेट लिएको इनिङ्समा तीन खेलाडी रनआउट भएका थिए ।

यो हारसँगै लखनउ बाहिरिएको छ । मुम्बई दोस्रो क्वालिफायरमा पुगेको छ । 

अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेर प्लेअफमा पुगेका टिमले इलिमिनेटर खेलेका हुन् । लखनउ १७ अंकसहित तेस्रो तथा मुम्बई १६ अंकसहित चौथो हुँदै प्लेअफमा पुगेको हो । 

दोस्रो क्वालिफायर शुक्रबार 
दोस्रो क्वालिफायर शुक्रबार खेलिने छ । यो खेल बेलुकी ७ः४५ बजे अहमदाबादमा हुनेछ । दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता मुम्बई इन्डियन्स तथा पहिलो क्वालिफायरबाट पराजित भएको गुजरात टाइटान्सले खेल्नेछन् । 

यो खेलको विजेता फाइनलमा पुग्नेछ । गुजरात टाइटान्स पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित हुँदै दोस्रो क्वालिफायरमा धकेलिएको हो । 

फाइनल आइतबार 
फाइनलमा चेन्नई सुपर किंग्स पुगिसकेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा जित हासिल गर्दै चेन्नई फाइनलमा पुगेको हो । चेन्नईले साविक विजेता गुजरात टाइटान्सलाई पराजित गर्यो । 

चेन्नईको मैदानमा भएको खेलमा गुजरात १५ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले ७ विकेटको क्षतिमा १७२ रन बनायो । 

८७ रनको ओपनिङ साझेदारी भएको खेलमा ऋतुराज गायकवाडले ४४ बलमा ६० तथा डेवोन कन्वेले ३४ बलमा ४० रन बनाए । 

रविन्द्र जडेजाले १६ बलमा २२ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनी भने २ बलमा १ रन बनाएर आउट भए । 

मोहम्मद शमी र मोहित शर्माले २–२ विकेट लिए । जवाफमा गुजरातले सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो ।

शुबमन गिलले ३८ बलमा ४२ तथा राशिद खानले १६ बलमा ३० रन बनाए । दीपक चहर, महीश थिक्शाना, रविन्द्र जडेजा र मथिशा पथिरानाले २–२ विकेट लिए । ऋतुराज प्लेयर अफ द म्याच भए । 

 गुजरात २० अंकसहित शीर्ष स्थानमा रहेर र चेन्नई १७ अंकसहित दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेलेका हुन् । चेन्नई १० पटक फाइनलमा पुगिसकेको छ । 

लिग चरणको अंक तालिका 
१० टोली सहभागी लिग चरणका सबै खेलबाट २० अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा रह्यो १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रह्यो ।   

१७ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो तथा १६ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा रह्यो । 

राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरको समान १४ अंक रह्यो । कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १२ अंक रह्यो ।

दिल्ली क्यापिटल्सको १० तथा पुछारको सनराइजर्स हैदराबादको ८ अंक रह्यो । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ