arrow

एमालेको अवरोधपछि संसद बैठक बस्नै सकेन, शनिबार अपरान्ह बस्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
parliament-disturbed-uml-2080-02-13.jpg

काठमाडौं । नेकपा एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधि सभाको बैठक पुनः चालु नहुन नसकेपछि शनिबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची थियो । तर, १० जेठमा नीति था कार्यक्रममाथि छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा अनियमितता भएको बताएको विषयमा आपत्ति जनाउँदै नेकपा एमालेले संसद बैठक अवरोध गरेको हो ।

दिनभर दलहरूबीच बैठक सञ्चालनका लागि छलफल भए पनि सहमति हुन नसकेपछि शनिबार अपरान्ह ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

२० मिनेटका लागि स्थगित गरिएको बैठक साँझ ६ बजे बस्ने भनिए पनि बस्न सकेन । यसअघि दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनःअर्को सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको सङ्घीय सचिवालयले जनाएको थियो ।

तर बैठक बस्न सकेन । यसअघि दिउँसो १२ः४५ बजे २० मिनेटका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणवश बैठक बस्ने समय परिवर्तन भएको जनाएको हो ।

शुक्रबारै बसेको अघिल्लो बैठकमा एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए । 

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथको जलहरीमा सुनको सट्टा पित्तल लगाइएको र भ्रष्टाचार भएको भनी माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसबारे सरकारको स्पष्ट जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताएका थिए । 

सभामुख घिमिरेले आसनग्रहण गर्न पटकपटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूले रोष्ट्रम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए । 

करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि उनले बैठक २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि धेरै प्रयास भए पनि संसद शुरु हुन सकेन । 

१५ गते सोमबार संघीय सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दैछ । 



नयाँ