arrow

आईपीएलको फाइनल भोलि, गुजरात लगातार दोस्रो पटक फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
ipl-gujrat-titans-happy.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनल खेल आइतबार हुँदैछ । उपाधिका लागि चेन्नई सुपर किंग्स र गुजरात टाइटान्स भिड्ने छन् । 

पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै चेन्नई फाइनलमा पुगेको हो भने दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात फाइनलमा पुगेको हो । 

दोस्रो क्वालिफायर
दोस्रो क्वालिफायरमा पाँच पटकको विजेता मुम्बई इन्डियन्सले साविक विजेता गुजरात टाइटान्ससँग घुँडा टेक्यो ।

नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति भएको खेलमा मुम्बई ६२ रनले पराजित भयो । 

पहिले ब्याटिङ गरेको गुजरातले ३ विकेटको क्षतिमा २३३ रन बनायो । शुबमन गिलले ६० बलमा १२९ रन बनाएर गुजरातका लागि ठूलो स्कोर खडा गरे । 

३० रन बनाउँदा क्याच आउट हुनबाट जोगिएका शुबमनले आफ्नो इनिङ्समा तीन वटा जीवनदान पाएका थिए । जारी आईपीएलमा सर्वाधिक रन बनाएका २३ वर्षे गिलको यो तेस्रो शतक हो । 

त्यसबाहेक साइ शुदर्शनले ३१ बलमा ४३ रन बनाएर रिटायर्ड आउट भए । कप्तान हार्दिक पाण्डेयाले १३ बलमा अविजत रहँदै २८ रन बनाए ।  

जवाफमा मुम्बईले १८.२ ओभरमा अलआउट हुँदै १७१ रनमात्र बनायो । सूर्यकुमार यादवले ३८ बलमा ६१, तिलक बर्माले १४ बलमा ४३ तथा क्यामरुन ग्रिनले २० बलमा ३० रन बनाएको इनिङ्समा अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

मोहित शर्माले १० रन खर्चेर ५ विकेट लिए । त्यस्तै मोहम्मद शमी र राशिद खानले २–२ विकेट लिए । 

बुधबार राति भएको प्लेअफको इलिमिनेटर खेलमा लखनउ सुपर जाइन्टसमाथि ८१ रनको फराकिलो जित हासिल गर्दै मुम्बई दोस्रो क्वालिफायरमा पुगेको थियो । तर शुक्रबारको खेलमा भने निराशाजनक प्रदर्शन गर्यो । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 

१६ औं संस्करण जिते चेन्नईले मुम्बईसँग बराबरी गर्नेछ । गुजरातले जिते लगातार दोस्रो उपाधि जित्ने कीर्तिमान बनाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ