arrow

भेँडापालनमा तमानखोलाका युवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
sheep-bhedigoth.jpg
तस्वीर फाइल

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका-४ लाम्मेलाका २५ वर्षीय युवा सिजन छन्त्याल भेँडापालनमा छन् । युवा जोस तथा उत्सुकताको उमेरमा उनको सन्तुष्टि भने भेडापालमा भेटिएको छ ।

अहिलेका युवामा वैदेशिक रोजगारीको मोह बढिरहेको सन्दर्भमा सिजनलाई भने भेँडीगोठले तानिरहेको छ । बुबा र बाजेले गर्दै आएको भेँडापालनलाई आफूले निरन्तरता दिने निर्णयका साथ भेँडापालनमा होमिएको उनको भनाइ छ ।

भेँडापालनलाई व्यावसायिक बनाउनसके विदेशको कमाई आफ्नै गाउँठाउँमा गर्न सकिने भन्दै भेडापालनमा होमिएको उनी बताउँछन् । सिजन अहिले आफ्नो गाउँ लाम्मेला हुँदै भेँडा चराउनका लागि सोलेडाँडा पुगेका छन् । उनले पालेका एक सय पाँच भेँडा अब भदौमा मात्रै घर फर्कंनेछन् ।

“बाबा भक्तिप्रसाद छन्त्यालको प्रेरणाले भेडापालनमा लागे, सानैमा भेँडीगोठमा नै बढी आनन्द मानियो, साथीभाइ राहदानी बनाएर विदेश हानिए, भेँडापालनमा समेत राम्रो सम्भावना देखेर आफू भने भेँडीगोठमा लागेको हुँ”, युवा भेँडापालक किसान सिजनले भने, “कम्तीमा दुई सय भेँडा पाल्न सके खाडी मुलुकमा जति कमाउन सकिने रहेछ, रोगव्याधी र जङ्गली जनावरले नसताएमा अब मङ्सिरमा घर आउँदा भेँडा झण्डै एक सय ४० भन्दामाथि पुग्नेछन् ।”

एक वर्षमा ४० देखि ५० भेँडा, साँढ तथा पाठी बिक्री गर्नेगरी भेँडापालनलाई व्यवस्थित गर्दै आएको उनको भनाइ छ । रोज्जा साँढको मूल्य रु ३५ हजारसम्म पर्ने गरेको उनले बताए । सरदर रु १० हजारदेखि ३५ हजारसम्म साँढ, भेँडा र पाठीको मूल्य पर्दछ । भेडापालनबाटै वार्षिक रु छ लाख आम्दानी गर्दै आएको उनको भनाइ छ ।

“भेडापालन एक कष्टकर पेशा हो, घरमै बसेर भेँडापालन हुँदैन, जङ्गलमा अस्थायी गोठ बनाएर भेडापालन गर्दै बस्नुपर्दछ”, उनले भने, “वार्षिक सरदरमा रु छ लाख आम्दानी हुन्छ, जङ्गली जनवारको आक्रमणमा नपरे अझ धेरै हुनसक्छ, नेपालमै बसेर भेडापालन गर्ने सोच बनाएको छु, साथीभाइ विदेशिए भनेर म विदेश जान्न ।”

उनले भेँडा चराउनका लागि बैशाखमा सोलेडाँडा, फागुन र चैत जम्दारखोर, पुस र माघ सोलेडाँडा, असोज र कात्तिक बैलीको धुरी र असारदेखि भदौसम्म बुकीमा भेँडा चराउन लैजाने गरेको बताए । वर्षमा मङ्सिर महिना मात्रै भेँडालाई घरमा राख्ने गरेको सिजनको भनाइ छ ।

परम्परागत भेँडापालनमा पछिल्लो समय युवाको आकर्षण देखिएको हो । पुर्खादेखिको पेसा धान्दै भेँडापालनलाई व्यावसायिक बनाउँदै यहाँका केही युवा भेँडापालनमा आकर्षित भएका हुन् । सिजनसँगै भेँडापालन अर्का युवा तारानाथ सिर्पाली पनि सक्रिय छन् ।

तारानाथका अहिले २५ मात्रै भेँडा छन् । उनले यस वर्ष भेँडाको सङ्ख्या बढाउने बताए। पुस्तान्तरणको अभावमा कतिपय पेशा लोप हुने अवस्थामा पुगे पनि भेँडा पाल्ने पेसामा हाम्रो तमानखोलामा पुस्तान्तरण भएको भेँडापालक किसान तारानाथको भनाइ छ ।

उनले गाउँपालिकाले युवा भेँडापालक किसानलाई भेँडीगोठमा आवश्यक त्रिपाल, सोलार र टर्चलाइट वितरण गरेको बताए । खोर सुधारका लागिसमेत पालिकाले समयसमयमा अनुदान दिने गरेको उनको भनाइ छ ।

“गाउँपालिकाले भेँडापालन किसानलाई त्रिपाल, सोलार तथा लाइट वितरण गरेको छ, जङ्गलमा गोठ बनाएर बस्दा गाउँपालिकाले दिएको सामाग्रीको निकै महत्व छ”, उनले भने, “भेँडापालन पेसा निकै कष्टकर भए पनि दुःख गर्नसके राम्रो आम्दानी हुने पेशा हो ।”

पछिल्लो समय भेँडापालक किसान पाउनै मुस्किल भएका सन्दर्भमा उक्त गाउँपालिकाका उच्च पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत पशुपालन रहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

गाउँपालिकाले भेँडापालक किसानलाई खोर सुधार गर्न, त्रिपाल खरिद गर्न र सोलार खरिदका लागि सहयोग गर्दै आएको उनले जानकारी दिए । रासस



नयाँ