arrow

वर्षाले आज पनि आईपीएलको फाइनल हुन नसके ट्रफी कसको ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
ipl-final-ahamadabad-raining.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनल खेल आज हुँदैछ । हिजो वर्षाले खेल हुन नसकेपछि आज हुन लागेको हो । 

उपाधिका लागि चेन्नई सुपर किंग्स र गुजरात टाइटान्स भिड्दै छन् । खेल बेलुकी ७ः४५ बजे गुजरातको नरेन्द्र मोदी स्टेडियममा हुँदैछ । हिजोको खेलमा भने राति ११ बजसम्म पनि टस हुन नसकेपछि आजका लागि सारिएको हो । 

हिजो वर्षा हुने सम्भावना दुई प्रतिशतमात्र थियो । आज त्यो सम्भावना १० प्रतिशत रहेको भारत मौसम विज्ञान विभाग जनाएको छ । 

समीकरण–
गुजरातका लागि यो लगातार दोस्रो उपाधि जित्ने राम्रो अवसरसमेत हुनेछ । अर्कातर्फ यो मैदानमा गुजरातले अहिलेसम्म यो मैदानमा ९ खेल खेलेको छ । जसमा ६ मा जित र ३ मा हार बेहोरेको छ । 

यता चेन्नईका लागि भने यो मैदान बिर्सनयोग्य मैदान हो । अहिलेसम्म ३ खेल खेलेको चेन्नईले ३ वटै खेल हारेको छ । 

यो मैदानलाई पहिले सरदार पटेल स्टेडियम, मोटेराको नामले जानिन्थ्यो । 

गुजरातले अहिलेसम्म यो सिजनमा १६ खेल खेलेकामा ११ खेल जित्दा ५ खेलमात्र हारेको छ । 

चेन्नईविरुद्ध चार विदेशी खेलाडी लिएर गुजरात उत्रने छ । डेभिड मिलर, राशिद खान, नुर अहमद र जोसुवा लिटिल हुन सक्छन् । त्यस्तै मोहम्मद शमी, भुबमन गिल र कप्तान हार्दिक पाण्डेया आफैँमा सशक्त छन् । 

शुबमनले तीन शतकसहित ८५१ रन बनाएका छन् । शमीले २८ विकेट लिएका छन् भने राशिदले २७ विकेट लिएका छन् । 

मोहित शर्माले २४ विकेट लिएका छन् भने हार्दिकले ३२५ रन बनाएका छन् । 

चार पटकको च्याम्पियन महेन्द्र सिंह धोनीको कप्तानीको चेन्नई सफल टिममा पर्छ । मुम्बई इन्डियन्सपछि चेन्नई सबैभन्दा सफल टिम हो । 

चेन्नई १४ मा १२ सिजन प्लेअफमा पुगेको छ । १० पटक फाइनल खेलेको छ । यो सिजनमा खेलेका १५ मध्ये ९ मा जित र ५ मा हार भोगेको छ । एक खेल वर्षाले रद्द भएको थियो । 

चेन्नईका डेवोन कान्वेले ६२५ रन बनाएका छन् । ऋतुराज गायकवाडले ५६४ रन बनाएका छन् । अजिन्क्या रहानेले २९९ रन बनाएका छन् । 

त्यस्तै तुषार देशपान्डेले २१ विकेट लिएका छन् । 

हेड टु हेडमा अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन पटक गुजरातले जित्दा एक खेल चेन्नईले जितेको छ । 

पिच रिपोर्ट–
यो स्टेडियमको पिच ब्याटरका लागि राम्रो मानिन्छ । पहिलो क्वालिफायर चेन्नईको एमए चिदम्बरम मैदानमा भएको थियो । त्यो मैदानको ब्याटिङबाट औसत १६० देखि १७० रन बन्दै आएको छ । त्यहाँ बलरलाई फाइदा हुन्थ्यो । 

तर फाइनल हुने नरेन्द्र मोदी स्टेडियम ब्याटर बेस्ड हो । यो मैदानमा ८ खेल खेलिसकिएको छ । जसमा गुजरातले ५ मा जित र ३ मा हार बेहोरेको छ । 

यो मैदानमा गुजरात र चेन्नईबीच एक खेल भएको छ जहाँ गुजरातले बाजी मारेको थियो । 

तर मौसमका कारण पिचमा पनि असर पर्ने हो कि भन्ने शंका छ । हिजो हुनुपर्ने  फाइनलका लागि मौसमले पिचलाई कुनै असर नपर्ने जनाइएको थियो । 

तर हिजो रातभर वर्षा भएपछि भने त्यसको ओसको असर हुन सक्छ । आज पनि वर्षा हुने सम्भावना औंल्याइएको छ । 

आज पनि खेल हुन नसके ट्रफी कसको ? 
आज खेल हुने अपेक्षा हुँदा हुँदै यदि वर्षाले खेल पूरा हुन नपाए उपाधि कसले जित्छ ? यसबारेमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले केही बताएको छैन । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतियोगिताको फाइनल रद्द भए उपाधि साझेदारी हुने गर्दछ । तर आईपीएलको उपाधिलाई लिएर अहिलेसम्म कुनै सही तथ्य बाहिर आएको छैन । 

अहिलेसम्मका संस्करणमा यसका लागि समस्या उत्पन्न भएको छैन । यदि प्लेअफ भिडन्त भएको भए लिग चरणको अंक तालिकाबाट निर्णय हुने थियो । 

अहिलेसम्म कुनै निर्णय बाहिर नआए पनि यदि आज पनि खेल सम्भव भएन भने पहिलो पटक ट्रफी शेयर हुन सक्छ । 

आईपीएलले आजका लागि फेरि टिकट लिन भने नपर्ने जनाएको छ । हिजोको टिकटबाटै आज प्रवेश पाइने जनाइएको छ ।  

यद्यपि क्रिकइन्फोको भनाइलाई विश्वास गर्ने हो भने ट्रफीका विजेता दुवैलाई घोषित नगरेर लिग चरणको अंक तालिकाका आधारमा गुजरातलाई विजयी घोषित गरिने छ । 

तर त्यसका लागि स्थानीय समय रातिको १२ः०६ बजेसम्म कुर्नुपर्नेछ । त्यसअघि ओभर घटाएर भए पनि खेलाउने प्रयास हुनेछ । अन्तिममा सुपर ओभर पनि हुन सक्नेछ । त्यो पनि नभए स्वतः गुजरात विजयी हुनेछ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 

१६ औं संस्करण जिते चेन्नईले मुम्बईसँग बराबरी गर्नेछ । गुजरातले जिते लगातार दोस्रो उपाधि जित्ने कीर्तिमान बनाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ