arrow

मोदीले थालेको स्वच्छ भारत अभियानको चर्चा, प्रचण्डले फोहर व्यवस्थापन अध्ययन गर्न प्राविधिक पठाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
prachanda-india-2080-02-19-nefra-resource-management.jpg

इन्दोर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन् । 

सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको बताए । 

कूल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिृकत सिंहले जानकारी दिए । 

सो केन्द्रले फोहरलाई व्यवस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दोर शहरमा चल्ने सवारी साधानमा प्रयोग गरिँदै आइएको छ । 

केन्द्रको अवलोकनपश्चात प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिकहरु पठाइ फोहर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताए । 

स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमूनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान शुरु गरेका थिए । 

प्रधानमन्त्री दाहाल केन्द्रको अवलोकन गर्न शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्यप्रदेशको इन्दोर पुगेका थिए । इन्दोर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए । 

प्रधानमन्त्री दाहालको सम्मानमा शुक्रबारै मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गरेका छन् । 

प्रधामन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही जेठ १७ गते भारत गएका हुन् । 

फोहरबारे प्रचण्डको गम्भीर चासो 
फोहरको राम्रो व्यवस्थापन गर्न नसकेकै कारण प्रचण्ड आलोचित भइसकेका छन् । 

उनी नेतृत्वको सरकारले सहयोग नगरेकै कारण काठमाडौं महानगरपालिकाले प्रशासनिक केन्द्र सिंहदरबार (जहाँ प्रधानमन्त्री कार्यालय पनि छ) र प्रधानमन्त्री निवास बालुवाटारसमेतको फोहर उठाएको थिएन । 

जसका कारण प्रचण्ड आलोचित भएका थिए । 

उनले नेपाल फर्केर गम्भीर भएर यो विषयमा लाग्ने बताएका छन् । फोहरबाट मोहर बनाउने कला पनि प्रचण्डले अवलोकन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ