arrow

संसदका दुवै सदन ठप्प [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
parliament-2080-02-21y.jpg

काठमडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका प्रतिपक्ष दलहरुले संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गरेका छन् । 

आज आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथिको छलफलका लागि बसेको संघीय संसद अन्तर्गतका प्रतिनिधि र राष्ट्रिय सभा दुवै सदनको बैठक प्रमुख प्रतिपक्ष दलले अवरुद्ध गरेको हो । 

प्रतिनिधि सभाको बैठकमा पनि नागरिकता विधेयक प्रमाणीकरण, पूवसभासद् रेशम चौधरीलाई आममाफी र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएसँगै संसद अवरुद्ध भएको छ । 

नेकपा एमालेका राष्ट्रिय सभाका उपनेता भैरवसुन्दरश्रेष्ठले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकप्रति आपत्ति जनाए । उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि संसदबाट पठाएकोमा अहिले सोही विधेयक नयाँ संसद बनिसकेपछि संसदमा नल्याइकन विधेयक मरिसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएकोप्रति आपत्ति जनाए ।

उनले यस बारेमा सरकारले स्पष्ट धारणा राख्नुपर्ने र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा लिपुलेक, कालापानी, लिम्पियाधुरा भूभाग बंगलादेशको बाटोका लागि साट्ने कुरा गरेको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘हालै राष्ट्रपतिज्यूले विवादास्पद नागरिकता विधेयक थियो, त्यो प्रमाणीकरण गर्नुभएको छ । नागरिकताको सवालमा स्वदेशमा जन्मिएका सबै नेपाली नागरिकहरुले वंशजको आधारबाट नागरिकता पाउनुपर्छ । तर निष्क्रिय भइसकेको नागरिकता विधेयक वर्तमान सरकारले यही जेठ १२ गते मन्त्रीपरिषद्को बैठक बसेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइयो । त्यो घोर आपत्तिजनक, अलोकतान्त्रिक छ । गैरसंवैधानिक छ । राष्ट्रपतिज्यूबाट पनि जसरी प्रमाणीकरण भएको छ, त्यसमा तत्कालीन सभामुखबाट तत्कालीन राष्ट्रपतिको नाममा पठाइएको छ, यो अहिले आएर प्रमाणीकरण हुनु आपत्तिजनक छ । यो कार्यसूचीबाट हटाइयोस् र यसको चित्तबुझ्दो जवाफ नेपाल सरकारले देओस् । प्रधानमन्त्रीले भारतभ्रमणका क्रममा लिपुलेक, कालापानी, लिम्पियाधुरा भूभाग नेपालको हो, त्यो भूभाग दिनेगरी बंगलादेश जानका लागि बाटो साट्ने कुरा राष्ट्रघात हो, यसरी प्रधानमन्त्रीले यस बारेमा जानकारी गराउनुपर्छ ।’

राष्ट्रिय सभाको अर्को बैठक २९ मिनेटपछि र प्रतिनिधि सभाको बैठक ६० मिनेटपछि बस्ने गरी स्थागित भए पनि प्रतिनिधि सभाको बैठक भने पुनः शुरु हुन सकेन ।

राष्ट्रिय सभाको दोस्रो बैठकले भने पूर्व सांसद मीना पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । 

त्यसैगरी बैठकमा उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण पनि गरेको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समेत रहनु भएकी स्वर्गीय पाण्डे नेपाली काँग्रेसको तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य साथै २०६४ को संविधानसभा सदस्य थिइन् । 

राष्ट्रिय सभाको अर्को बैठक सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको छ । 

प्रतिनिधि सभाको बैठक धेरै प्रयास गर्दा पनि खुलाउन नसकेपछि सभामुखले साेमबार बिहान ११ बजेलाई बोलाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ