arrow

एमालेको दोस्रो ‘मिसन ग्रासरुट’ मा वरिष्ठ उपाध्यक्षसहित सबै केन्द्रीय सदस्यलाई जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
uml-cpn.jpg

काठमाडौं । एमालेले दोस्रो चरणको ‘मिसन ग्रासरुट’का सञ्चालन गर्ने भएको छ । एमाले सचिवालय बैठकले दोस्रो चरणको मिसन ग्रास रुट अभियान सञ्चालनको लागि तयारी रहने सबै नेता कार्यकर्तालाई निर्देशन दिएको छ । त्यसकै लागि एमालेले एकैपटक वरिष्ठ उपाध्यक्षसहित सबै केन्द्रीय सदस्यलाई फरक फरक जिम्मेवारी दिएको छ । 

सबैलाई कार्यकारी जिम्मेवारी दिने नीतिअन्तर्गत सहइन्चार्ज र उपप्रमुखको जिम्मेवारी खारेज गरेर एमालेले केन्द्रीय तहका नेतालाई पालिका तहसम्म इन्चार्जका रूपमा खटाउने गरी निर्णय गरेको अन्तरपार्टी निर्दैशन जारी गरिकसकेको छ  । 

एमालेले पार्टीभित्र विचारधारात्मक काममा कमी देखिएको, कतिपय नेता÷कार्यकर्ताहरुमा पार्टीका विचार र सिद्धान्तमा चासो कम रहेको,  पार्टी प्रशिक्षणहरु यथोचित नभएको, पार्टीपङ्क्तिमा संगठनात्मक अराजकता बढेको, समाजवादको आधार निर्माण गर्ने पार्टीको राजनीतिक कार्यदिशासँग जनप्रतिनिधिको भूमिकालाई जोड्न नसकिएको, जसका कारण विगतमा जितेका पालिकाहरुमा पनि पराजय व्यहोर्नु परेको, निर्वाचनमा उमेद्वारी छनोटका आधारहरुबारे कार्यकर्तामा प्रष्टता नभएको, निर्वाचनमा आफ्नै पार्टीको बागी उमेद्वार बन्ने र घात–अन्तर्घात गर्ने समस्या देखापरेको, आफू उमेद्वार भए पार्टीको उमेद्वार, अरु भए नातावाद कृपावादबाट उमेद्वारी पाएको जस्ता आरोप लगाउने प्रवृत्ति र व्यक्तिवादी–अहंकारी सोच देखापरेको, पार्टी प्रवेशको महत्व बुझ्ने र प्रवेशीहरुलाई जिम्मेवारी दिने कुरामा सङ्कीर्णता देखापरेको, पुराना कार्यकर्ता र नवप्रवेशीहरुको जिम्मेवारीमा सन्तुलन मिलाउने कुरामा कमी देखिएको भन्दै यी सबै पक्षलाई सच्याउनु पर्ने एमालेको निष्कर्ष रहेको छ । 

गत बैशाख ३० मा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले नयाँ कार्ययोजनाअन्तर्गत युवाहरूलाई कमिटीमा संगठित गर्न देशैभर छोराछोरी अभियान चलाउने, सबै कमिटीमा ३५ वर्षभन्दा कम उमेरका ३५ प्रतिशत सिट आरक्षित गर्ने, पूर्वदेखि सुदूरपश्चिमसम्म आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गकेन्द्रित अभियान चलाउने, युएमल–न्यूएमल अभियान, कूल मतदाताको ३३ प्रतिशतसम्म पार्टी सदस्यता विस्तार अभियान चलाउने, असारसम्म पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्नेलगायत प्रस्ताव पास गरेको थियो । त्यसैलाई समेटेर सचिवालयले दोस्रो ग्रासरुट चलाउने गरी बनाएको विस्तृत कार्ययोजनालाई एमालेले सर्कुलरमार्फत जारी गरेको हो । 

एमालेले स्थानीय सरकारको नेतृत्व भएका ठाउँमा विकास र सुशासन लगायतको काममा नेतृत्व गर्ने, विपक्षी भएका स्थानमा दबाब दिने, नेता–कार्यकर्ताले अनिवार्य रूपमा उत्पादन सम्बन्धसँग जोडिएर श्रमशक्ति विकास गर्ने, सबै तहका नेताहरू अनिवार्य रूपमा पार्टी कार्यालयमा नियमित उपस्थित भएर भेटघाट, छलफल, संवाद चलाउने योजना पनि पारित गरेको छ । त्यस्तै, आगामी भदौबाट क्रमशः प्रदेश, जिल्ला, पालिका हुँदै वडा तहको अधिवेशन सम्पन्न गर्नेजस्ता कार्ययोजना बनाएको छ । 

पहिलो चरणको दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सफल रूपमा सम्पन्न भएको र समीक्षा उत्साहजनक देखिएकाले अर्को केन्द्रीय कमिटी बैठकसम्मका लागि सचिवालय बैठकले पदाधिकारीसहित सबै केन्द्रीय नेताको जिम्मेवारीमा व्यापक हेरफेर गरेको हो । 

बैशाख पहिलो सातासम्म चलेको सो अभियानमा एमालेले सबै केन्द्रीय सदस्यलाई आफ्नो जिल्लाबाहेक फरक जिल्लाको जिम्मेवारीमा खटाएको थियो । 

त्यसरी जिम्मेवारी दिँदा पार्टी कमिटी र संगठनको परिचालन प्रभावकारी भएको र उत्साह पैदा गर्ने गरी नयाँ सन्देश दिएको निष्कर्षसहित एमालेले सबै केन्द्रीय सदस्यलाई नयाँ ठाउँमा खटाउने गरी निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ