arrow

कोरला नाका छिटो भन्दा छिटो सुचारु गर्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
corola naka.jpg

पोखरा । पोखरा महानगरपालिकाका पर्यटन विकास समितिका उपाध्यक्ष एवं पर्यटन व्यवसायी रवीन्द्रराज पौडेलले पोखरा एवं समग्र नेपालको विकासका लागि कोरला नाका छिटो भन्दा छिटो सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । पौडेलले यसतर्फ विशेषगरि नेपाल सरकारको ध्यान पुग्न आवश्यक रहेको बताए । 

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको व्यवसायिक प्रवर्द्धनात्मक अध्ययन अवलोकन भ्रमणका क्रममा उपाध्यक्ष पौडेलले कोरला नाका सुचारु गर्ने नेपाल र चीनबीच व्यापार आदानप्रदान गर्ने हो भने मुलुकले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । सीमा खुला गर्न सकिए नेपाली र चिनियाँ व्यवसाय र पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ । 

उनले स्वदेशी उत्पादनहरुलाई विश्व बजारमा पुर्याउन एगाले महत्वपूर्ण भूमिका खेल्नेसमेत बताए । ‘एगाले जुन उद्देश्यका साथ भ्रमण आयोजना गरेको थियो त्यो अत्यन्तै फलदायी भएको छ । यसबाट पर्यटन एवं व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुगेको छ’, उनले भने ।  

एगाका अध्यक्ष ईन्द्र भण्डारीले नेपालको विकासका साथै व्यवसाय प्रवर्द्धनका लागि पनि कोरला नाका खोल्न अपरिहार्य रहेको स्पष्ट पारे । 

कोरला नाका सुचारु भएमा पोखराबाट चीन र चीनबाट पोखराबीच व्यवसाय विस्तार हुने भन्दै उनले यसका लागि प्रदेश सरकारले पटकपटक आवाज उठाउँदै आएकोमा अब बोल्नेमात्र होइन सार्थक ढंगले पहल गर्नुपर्नेमा जोड दिए । 

सबै हिसावले भ्रमण अत्यन्तै फलदायी भएको र भ्रमणबाट महत्वपूर्ण शिक्षा हासिल भएको उनले स्पष्ट पारे । 

‘भ्रमणका क्रममा भएका व्यवसायी र स्थानीय उद्योगीबीचको अन्तरक्रियाबाट धेरै विषय बुझ्ने अवसर मिल्यो । स्थानीय उद्योगीका समस्या बुझ्ने प्रयास गर्यौं’, उनले भने, ‘आगामी दिनमा उद्योगीका समस्या समाधानमा स्थानीय सरकारलाई झकझक्याउने काम गर्छौं र स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीको बजार प्रवर्द्धनमा ध्यान दिन्छौं ।’

स्थानीय उद्योगीका समस्या सुल्झाउँदै उत्पादित सामाग्री उचित मूल्य दिएर आफूहरुले खरिद गर्ने र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आफूहरुले पुलको भूमिका निर्वाह गर्ने उनले जानकारी दिए । 

एगाका निवर्तमान अध्यक्ष विश्वराज पोखरेलले सुविनियरका रुपमा बनाएर विश्व बजारसम्म देशलाई चिनाउने र स्वदेशी आयआर्जनमा पनि सहयोग गर्ने काम संस्थाले गर्दै आइरहेको बताए । 

स्वदेशी उत्पादन, एगाको पहिचान भन्ने लक्ष्यलाई सार्थक बनाउने उद्देश्यले आयोजित भ्रमण अत्यन्तै फलदायी रहेको उनले बताए । 

उनले आगामी दिनहरुमा पनि समग्र पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । स्थानीय स्तरमा उत्पादित सामाग्रीहरुलाई विश्व बजारमा पुर्याउन तीन वटै तहका सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

पर्यटन अभियान्ता कृष्ण केसीले पोखरासँग म्याग्दीको पर्यटकीय सम्बन्ध जोड्नुपर्ने बताए । भएका पूर्वाधारको विकाससँगै प्रवर्द्धन र पर्यटन लक्षित कार्यक्रमलाई जोड दिँदै यहाँका स्थानीयको आयआर्जन बढाउनेतर्फ लाग्नु जरुरी रहेको उनले स्पष्ट पारे ।

संस्थाका उपाध्यक्ष गोकर्ण लम्सालका अनुसार ४५ सदस्यीय भ्रमण टोलीले कास्की, पर्वत, म्याग्दी, मुस्ताङको कागवेनी, मुक्तिनाथ, लोमान्थाङ हुँदै कोरला नाकासम्म पुगेर अध्ययन अवलोकन गरेको थियो । 

साथै टोलीले पर्वतको भुरुङ्गा, म्याग्दीको बेनी, मुस्ताङको कागवेनी, लोमन्थाङमा व्यवसायिक प्रवर्द्धनात्मक अन्तरक्रिया गरेको उपाध्यक्ष लम्सालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ