arrow

प्रजनन केन्द्रमा कोरलिन थाले गोहीको बच्चा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
gohi-crocodile-ghadiyal.jpg

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन् । केन्द्रको गुड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट २० वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा कोरलिएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती अण्डाबाट जेठ २४ गते ती बच्चा कोरलिएका हुन् । केन्द्रले वैशाख ८ गते राप्ती नदीको सितामाईदेखि सौराहासम्म आठ गुँडबाट दुई सय ४२ अण्डा सङ्कलन गरेको थियो । ती अण्डा केन्द्रमा बच्चा जन्माउनका लागि राखिएको थियो । तीमध्ये २० वटा गोहीको बच्चा कोरलिएको तिवारीले जानकारी दिए । अन्य अण्डाबाट बच्चा कोरल्ने प्रक्रिया भइरहेको उनले बताए ।  

प्रजनन केन्द्रका तीन वटा गुँडमा गोहीले अण्डा पारेको छ । उनका अनुसार गत दुई वर्ष प्रजनन केन्द्रका अण्डाबाट बच्चा कोरलिएका छैनन् । प्रजनन केन्द्रमा गोहीको सङ्ख्या बढी भएपछि यस वर्ष अण्डा थोरै मात्र सङ्कलन गरिएको हो । 

गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार गतवर्ष पाँच सय ६३ वटा अण्डा सङ्कलन गरिएको थियो । ती अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए । यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ । हालसम्म आईपुग्दा तीमध्ये तीन सय हाराहारी मात्रै जीवित छन् ।  

मगरले प्रजनन केन्द्रमा छ सय ४० साना ठूला गोही रहेको भन्दै यस वर्ष थोरै मात्र अण्डा सङ्कलन गरिएको बताए । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी गोहीका बच्चा हुर्काएर नदीमा छाड्दै आएको छ ।

प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ५२ गोही विभिन्न नदीमा छाडी सकिएको छ । तीमध्ये सबैभन्दा बढी राप्तिमा एक हजार एक सय ३२ गोही छाडिएको छ । 

नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ । पछिल्ला दिनमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिँदै आएको छ । 

नारायणी र राप्तीमा छाडिएका गोही पनि वर्षाको समयमा भारत पुग्ने र बाँधका कारण पुनः फर्किएर नआउने समस्या रहेको छ । नदी प्रदुषित हुँदै जानु, जथाभावी नदीजन्य पदार्थको उत्खनन् गर्नु, माछा मार्न ठूला जाल प्रयोग गर्नुजस्ता कारणले गोही संरक्षणमा समस्या भएको निकुञ्जको भनाइ छ । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ