arrow

टिकट नपाएपछि कांग्रेस छोडेका मनोजकुमारको कारबाही फुकुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
manoj-kumar-shah.PNG

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ । साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको हो । गठबन्धनबाट टिकट नपाएपछि कांग्रेसको साधारण सदस्यबाटसमेत राजीनामा गरेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई कांग्रेस पार्टीको विधान २०१७ (संशोधनसहित) धारा ३४ बमोजिम साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेको थियो ।

साहले पुनः पार्टीमा रही हिजोका आफ्ना गतिविधिलाई आत्मसात् गर्दै पार्टीको आदर्श, सिद्धान्त र उद्देश्यअनुसार क्रियाशील रहने गरी सोमबार निवेदन दिई पार्टीमै रहने प्रतिबद्धता व्यक्त गरेकाले कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेगरी उनको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले बताए ।

साह यसअघि कांग्रेसको जनकपुरधाम नगर सभापति थिए । साहले स्थानीय तहको निर्वाचनका क्रममा ९ वैशाख २०७९ मा नगर सभापति पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनको प्रस्तावकमा नन्दलाल साह र समर्थक रामप्रसाद पजियार थिए । 

निर्वाचनका दौरान गठबन्धनले जनकपुरधाम जनता समाजवादी पार्टीलाई दिने निर्णय गरेपछि असन्तुष्ट जनाउँदै साहले कांग्रेस परित्याग गर्दै नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।



नयाँ