arrow

पशुपतिको ३१ रोपनी जग्गा बिचौलीले अपचलन गरेका छन् – सांसद आले

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
prem-ale-parliament-2080-02-32.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा बिचौलीले अपचलन गरेको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपति क्षेत्र विकास कोषको जग्गा बिचौलीले अपचलन गरेको बताएका हुन् । 

उनले पशुपतिको मूर्ति तथा बहुमूल्य सम्पदा चोरिँदा पनि पर्यटन मन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको आरोप लगाए । उनले गोठाटारको ३१ रोपनी जग्गा बिचौलीले लिएर अपचलन गरेको बताए । 

उनले भने – ‘मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ । कोषको अध्यक्ष मन्त्री र पदाधिकारी मस्त निन्द्रामा छन् । गोठाटारको ५३५ रोपनी जग्गामध्ये ५०४ रोपनी मात्र हालसाबिक गरेर ३१ रोपनी जग्गा बिचौलियासँगको मिलेमतोमा अपचलन गरी त्यही जग्गा अपचलनमा मुछिएका बिचौलियालाई कोषको सदस्यमा नियुक्ति दिइएको छ । गोठाटारको जग्गाको विषयलाई सत्यतथ्य ल्याउने सदस्यलाई हटाउन स्पष्टीकरण सोधिएको छ ।’

सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले विगत ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झुठो बोलेको बताए । उनले निगमको यथार्थ आर्थिक अवस्थाको बारेमा संसदलाई जानकारी गराउन माग गरे । उनले थन्किएका जहाजलाई व्यवस्थापन गर्न मन्त्रीलाई चुनौती दिए । 

उनले भने – ‘यस वर्ष महालेखा प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड देखिएको छ । वायुसेवाको कुल ऋण ५० अर्ब नाघिसकेको छ । तर तीन महिनामा निगमले ४ अर्ब नाफा कमायो भनि पर्यटन मन्त्रीले सञ्चार माध्यममा झुटो बोलेको सुनियो । के हो यो ? आजको दिनमा जनतालाई भ्रम छर्न पाइँदैन । यो सदनमार्फत निगमको यथार्थ आर्थिक अवस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको लाखौँ बचतकर्तालाई स्पष्ट जानकारी गराइयोस् । दोस्रो चासोको विषय कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषको ऋण तिरेर तीन वटा जहाज खरिद गर्ने जो कुरा छ, यसमा कुनै सत्यता छैन । सकिन्छ भने पर्यटन मन्त्रीले थन्केका जहाजहरुको व्यवस्थापन गरुन् ।’ 

उनले पर्यटनमन्त्री किराँतीलाई स्टन्ट मन्त्रीको संज्ञा दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ