arrow

असारमा राजनीतिक अवस्था सामान्य, खाद्यवस्तु र खनिज इन्धनमा मूल्यवृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
monthly-horoscope.jpg
तस्बिर – फाइल ।

मासिक फल : यस महिनाका ग्रहस्थिति मध्यमजस्ता छन् । बिहीबारको सूर्यक्रमण तथा आइतबारको औँसीले देशको राजनीतिक अवस्था सामान्य रहनेछ । सामान्यजनमा केही सुविधा दैनिक उपयोगी वस्तुहरूमा केही सहजता तर केही खाद्यवस्तु तथा डिजल आदि खनिज ईन्धनमा मूल्यवृद्धि हुनेछ ।

आर्थिक वर्षको समाप्तिमा बजेट सक्न गरिने केही विकासका थोरै भए पनि जनता लाभान्वित हुनेछन् । आद्राको सूर्यले रूई, सूत, कपास, चिनी, तेल, धान्य, तामा, चाँदी आदि पदार्थमा तेजी र सुन सामान्य रहला । शेयरबजार पनि तेजी रहनेछ । कृत्रिम अभावले गर्दा दैनिक उपभोग्य पदार्थ तथा प्राकृतिक इन्धनमा समस्याको वातावरण देखिएला । वर्षा विषमता भए तापनि १, ४, ६, ७, ८, १०, १७, २२, २५, २७, २८ गते समुचित जलवर्षणको योग छ । मासको दानः अमलाको मुरब्बा वा अमला, कपूर चन्दन, पुस्तक, साथै गर्मी याममा हितकर वस्तुहरुको दान गर्नु शुभ हुनेछ ।

मासिक राशिफल :

मेष : मेष राशि भएका व्यक्तिहरुका लागि यो महिना समय उत्तम रहेको छ । राजनीति तथा समाज सेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कुटनीतिको क्षेत्रम काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रियाकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पती संग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकीसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धविश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपूर्ण भमिका निर्बाह गर्नेछ । माया प्रेमका सम्बन्धहरु विवाहमा परिणत गर्ने सहमती जुट्नेछ । तरपनि तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पारिवारिक जीवन सुखद् रहनेछ । यस्तै, बहुप्रतीक्षित इच्छा, आकांक्षा र उद्देश्य सफल हुनसक्छन् । यस अवधिको अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माँझको सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यका दृष्टिकोणले यो अवधि राम्रै छ । राशिस्वामी मङ्गलको प्रभाव पनि अनुकूल छ, लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ । सातौं भावमा बृहस्पति बक्री हुँदा प्रेम, प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा भने निराशा हुनेछ । साझेदारीका काममा झमेला आउने छ, त्यसैले भाग्यका मार्गमा अवरोध सिर्जना हुनेछ । उता चौथो राहुले घरमा कलहको वातावरण सिर्जना गर्नसक्छ, त्यस्तै मानसिक रूपमा कमजोर भइने छ । सामान्यतया यस महिनाको २, ३, ४, ११, १२, १३, २१, २२, २९, ३०, ३१, गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले कुल, पितृको आराधना, बृद्धबृद्धाको सेवा र भगवान् गणेशको उपासना गर्नु राम्रो हुन्छ ।

वृष : धन भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई क्याच गर्न नसस्दा उपलब्धी हातबाट फुत्किनेछ । धन सम्पती हराउने, लुटिने तथा स्थायी सम्पतीमा विवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको, आँखा तथा पेट तथा छात्ती सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रबाट भनेजस्तो नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । तर पनि बुध, शुक्र र मंगल ग्रहको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा विशेष उपलब्धी हासिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरुका लागी समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । राज्य भावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले निर्माण सामाग्री, मेडिकलका सामान खाद्यान्न जस्ता क्षेत्रमा गरिएको लगानीबाट भारी आम्दानी हुनेछ । यस्तै, दोस्रो घरमा रहेको सूर्यको फल अनुकूल हुनेछैन, शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ । आर्थिक दृष्टिले राम्रो समय छैन, सम्पत्तिको नोक्सानी हुनसक्छ, दीर्घकालिक लगानी र कारोबारप्रति सचेत हुनुपर्छ । बोलीमा अङ्कुश लगाएको बेस हुनेछ । राशिस्वामी शुक्रले तेस्रो र चौथो घरमा भ्रमण गर्ने हुँदा केही आशावादी बन्न सकिन्छ । प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्ने छ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । भाग्येश शनिश्चर आठौं भावमा बक्री रहेकाले महत्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । यात्रा गर्दा र सवारीमा सचेत हुनु राम्रो हुन्छ, सामान्य दुर्घटनाको जोखिम पनि देखिन्छ । खासगरी यस महिनाको ४, ५, ६, १३, १४, १५, २३, २४, २५, ३१ र ३२ गते तपाईंले सतर्कता अपनाएको जाति हुन्छ । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले घरमा रुद्री पूजा गराउने, भगवान् शंकरको आराधना गर्ने वा प्रत्येक शनिवार पीपलको पूजा गर्ने अथवा महाकाल शनिमृत्युञ्जय स्तोत्रको पाठ गरेमा राम्रो हुन्छ ।

मिथुन : मिथुन राशि भएका व्याक्तिहरुका लागि स्वास्थ्यमा विशेष गरी उक्त रक्तचाप, टाउको दुखाई, आखा, श्वासप्रश्वास तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेकोछ । पेट सम्बन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ । खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरुसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेकोछ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुनसक्छ ध्यान दिनुहोला । महिनाभरी नै शनिको अढैयाको प्रभाव रहने हुनाले भौतिक साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि बुध र शुक्रको अनुकुल प्रभावले पराराष्ट्र तथा कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । माया प्रेममा मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ । यस्तै, प्रारम्भमा तपाईंको आफ्नै राशिमा राशिपति बुधका साथमा सूर्यको उपस्थिति छ । ११ गतेपछि राशिस्वामी बुधले धनस्थानको भ्रमण गर्ने छ, त्यसैले अत्यन्त अनुकूल महिनाका रूपमा असार महिनाको आगमन भएको छ । आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । तर भाग्येश शनिश्चर सातौं भावमा बक्री रहेकाले पारिवारिक जीवन र दाम्पत्यसम्बन्धमा अनुकूलता देखिंदैन । स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुने देखिन्छ । उता आठौं भावमा रहेका मङ्गल र केतुले महत्वाकांक्षी योजना सफल हुन दिंदैनन्, त्यसैले यस महिनामा प्राप्त हुने शुभफलमा अझ वृद्धि गर्न तपाईंले दैनिक रूपमा हनुमान् चालिसाको पाठ गर्ने अथवा श्री गणेशको उपासना गर्दा लाभ हुनेछ । खासगरी यस महिनाको सामान्यतया यस महिनाको ६, ७, ८, १६, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् ।

कर्कट : समय मिश्रित रहेकोले खर्चालु यात्रा हुन सक्छ ध्यान दिनुहोला । कार्य क्षेत्रमा आलोचना सहितको जन समर्थन प्राप्त हुनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी कठिनाई तथा असजिलो परिस्थितीको सामना गर्नु पर्ने योग रहेकोछ । आखा, हड्डी तथा मुटु तथा श्वासप्रश्वास सम्बन्धी पुराना बिरामी हरुले ख्याल गर्नुहोला । आफन्त,घर परिवार तथा साथिभाईसँग सैद्धान्तिक विषयमा मतभेद बढ्नेछ भने मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडी बडे फाईदा हुने देखिन्छ । तरपनि बुध, शुक्रको अनुकुल प्रभावले विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समग लगानी गर्नेहरुका लागि समय उत्तम रहेकोछ । प्रयत्न गर्दा आम्दानी बढ्ने तथा लगानीका क्षेत्रहरु भेटिनेछन् । वंश वृद्धिको गतिलो योग रहेकोछ । विलासी वस्तुको प्रयोग गर्न पाईने तथा भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । तरल पदार्थ तथा सौन्दर्यको सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ । यस्तै, यो महिना क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । परिवारमा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्छ । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । यात्राबाट लाभको सम्भावना छैन । जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । समस्या र कठिनाइमा समय यापन गर्नु पर्ने छ । भाग्येश बृहस्पतिसमेत बक्री रहेकाले आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ । समग्रतामा यो महिना प्रतिकूल समय छ । खासगरी यस महिनाको १, २, ८, ९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अलि बढी सम्वेदनशील दिन हुनेछन् । त्यसैले यस महिनामा शुभफल प्राप्त गर्न भगवान् नारायणको उपासना गर्ने अथवा दैनिक रूपमा नारायण कवच, दुर्गा कवच वा दुर्गा चालिसाको पाठ गरेमा शुभ हुनेछ ।

सिंह : असार महिनामा पैत्रिक धन तथा भौतिक सम्पती हात लागी हुने योग रहेको छ । विपरित लिङ्ग तथा साथी संगतले फाईदा हुने तथा विलासी सामान प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । विद्यार्थी वर्गहरुले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै नतिजा आफ्नो पक्षमा पार्न सक्नेछन् । राजनीतिकर्मी तथा समाजसेवामा समय लगानी गर्नेहरुले राज्यबाट लाभ तथा सम्मान पाउने समय रहेको छ । लामो समयदेखि थाती रहेका काम तथा मुद्दाहरु किनारा लाग्नेछन् । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरेर प्रशस्त धन तथा सम्पती कमाउन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई स्वादिष्ठ भोजन गर्ने अवसर जुर्नेछ । महिनाको अन्ततिर खर्च बढेता पनि व्यापार व्यावसायमा समय दिनेहरुले प्रशस्त आम्दानी गर्न सक्नेछन् । धर्म तथा आध्यात्मिकतामा मन जानेछ भने लामो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रतिस्पर्धा भावमा गोचर गर्ने शनिको प्रभावले निर्माण सामाग्र, औषधी तथा खाद्यान्न सम्बन्धी सामानको व्यापारमा बृद्धि भए पनि अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । यस्तै, इच्छा र आकाक्षा पूर्ण हुने समयका रूपमा यस असार महिनाको आगमन भएको छ । किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद् र सफल हुनेछ । सुखभोग गर्न पाइने छ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ । समग्रमा समय राम्रै भए पनि वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ । पञ्चमेश बृहस्पति र पाँचौं भावमा रहेको शनिश्चर दुवै बक्री हुनाले सन्ततिको उन्नतिप्रगति, स्वास्थ्यस्थिति र आचरण चिन्ताको विषय बन्नेछ । प्रेमसम्बन्धमा उतारचढाव आइरहने सङ्केत छ । सामान्यतया यस महिनाको २, ३, ४, ११, १२, १३, २१, २२, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले कुल, पितृको आराधना, बृद्धबृद्धाको सेवा र भगवान् सूर्यनारायणको उपासना गर्नु राम्रो हुन्छ ।

कन्या : यस महिनामा प्रशासनिक तथा सरकारी क्षेत्रमा तपाईकै बर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् । योजनाहरु चुस्तरुपमा अगाडी बढ्नेछन् भने चुनौतिका पर्खालहरु आफै ढल्नेछन् । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुँदा मन प्रशन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरुले आफ्नो प्रतिस्पर्धी हरुलाई हराउन अली बढी मिहेनत गर्नुपर्नेछ । माया प्रेममा कहिले नजिक त कहिले टाढा हुने अवस्था रहेपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । बुध, शुक्र र अन्य ग्रहको अनुकुल प्रभावले दैनिक उपभोग्य वस्तु, औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । गोचरमा बुधको प्रभाव राम्रो हुनाले लेखन कला तथा बाणिमा सुधार गर्दै उन्नतीका पाईला अगाडि बढाउन सकिनेछ । यता, अत्यन्त क्रियाशील र व्यस्त रहने तथा कर्मक्षेत्रको परीक्षणको समय हो असार महिना । व्यापार÷ व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । वरिष्ठ व्यक्तित्व वा सत्तावान् व्यक्तिसँग सम्पर्क बढ्ने छ । पारिवारिक वातावरण संतोषप्रद रहनेछ । लोकप्रियता हासिल हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुन सक्छन् । सहयोगी हातहरू बढ्नेछन् र मित्रशक्तिबाट लाभ हुनेछ । तर चौथो भावको शनि अढैया रहेकाले परिवारमा किचलो र कलहको वातावरण बन्नसक्छ । दीर्घ रोगको प्रकोपमा रहेका व्यक्तिले पूर्ण रूपमा परहेजमा बस्नु राम्रो हुनेछ । झैझगडा र वादविवादमा नफँस्दा उचित हुनेछ । त्यसैले शुभफलमा अझ बृद्धि गर्न दैनिक श्री गणेशको उपासना वा हनुमान् चालिसाको पाठ गर्नुका साथै प्रत्येक शनिवार पीपलको सेवा गरेको जाति हुन्छ । सामान्यतया यस महिनाको ४, ५, ६, १३, १४, १५, २३, २४, २५, ३१ र ३२ गते तपाईंका लागि अशुभ रहने छन् ।

तुला : यस महिनामा संघर्षका बावजुद, राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी राज्यबाट पद प्राप्तीको योग रहेकोछ । नोकरीमा मान सम्मान पाईने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । ठूलाबढा तथा विशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ । गीतकार, संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मायालुको साथ पाउनेछन् । दैनिक उपभोग्य वस्तु, औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला श्वासप्रश्वास, छाती तथा मुटुमा समस्या देखिन सक्छ । यस्तै, भाग्यस्थानमा भाग्येश बुधका साथमा सूर्यको उपस्थिति भएकाले सामान्यतया यो महिना अनुकूल नै रहने छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले समेत राम्रो छ । वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । राशिस्वामीको दसौं र एघारौं भावमा उपस्थिति हुने हुँदा प्रतिष्ठा र सम्मानमा अत्यधिक वृद्धि हुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । तर आफ्नै राशिमा रहेको बृहस्पति बक्री हुँदा काममा विलम्ब हुनेछ । चौथो भावको मङ्गल र केतुले पारिवारिक किचलो सिर्जना गर्नेछ । लामो यात्रा सफल हुनेछैन । पञ्चमेश शनि बक्री भएकाले छोराछोरीका क्रियाकलापले दिक्क मान्ने परिस्थिति बन्नसक्छ । यस महिनाको ६, ७, ८, १६, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले कुल, पितृको आराधना, बृद्धबृद्धाको सेवा र शनिबारका दिन पिपलको पूजा गर्नु राम्रो हुन्छ ।

वृश्चिक : यस महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा समाजसेवामा तपाईंको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ । स्थायी सम्पतीमा विवाद आउने योग रहेकोछ भने दिदीबहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुन सक्छ । आँखा, हड्डी, मुटु, श्वासप्रश्वास तथा छातीसम्बन्धी र मेरुदण्ड सम्वन्धी रोगबाट पीडित भएकाहरुले भने सचेत हुनु जरुरी देखिन्छ । भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । तापनि बुध, शुक्र, शनि तथा अरु ग्रहको अनुकुल प्रभावले दैनिक उपभोग्य वस्तु, औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । निर्माण सामाग्री तथा अटोपार्टस सम्बन्धी कामबाट केही मात्रामा लाभ लिन सकिनेछ । मेहनत गर्दा पढाइ लेखाइमा उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । पत्रकार, उद्योगी व्यापारी, खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । यस्तै, आठौं घरमा सूर्यको उपस्थिति हुने भएकाले यो महिना तपाईंका लागि अनुकूल हुनेछैन । परिवारमा विनाकारण झगडा र विवाद हुनेछ । अस्वस्थताको सङ्केत छ । खानपान, आहारविहारप्रति सचेत रहनु पर्छ । सवारीसाधन हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा पनि होस् राख्नु वाञ्छनीय छ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ । खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । तर राशिस्वामी मङ्गल तृतीय भावमा रहेकाले मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । दाजुभाइका कारण खुसीको वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुनेछ । शत्रु र प्रतिस्पर्धीले सामना गर्न सक्दैनन् । सामान्यतया यस महिनाको १, २, ८, ९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा कुनै किसिमको अशुभफल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा महामृत्युञ्जय मन्त्रको जाप गर्ने, प्रत्येक शनिबार पीपलमा पानी चढाउने अथवा कालभैरवको उपासना गर्नु वाञ्छनीय देखिन्छ ।

धनु : यस महिनामा व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवन साथिसँग राय बाजिनेछ । ट्राभल तथा पर्यटनका क्षेत्रमा गरिएको लागानीबाट आम्दानी हुनेछैन । राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । महिनाभरि नै शनिको अन्त्य साढेसातीको प्रभाव पर्ने हुँदा बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । तरपनि अन्य ग्रहको अनुकुल प्रभाव पढाइ लेखाइ सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । विभिन्न अवसरहरुको सही तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलव्धी हात पर्नेछन् । बौद्धिकताको उपयोग गरी आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुन्दर तथा विलासी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ । राजनीति, व्यापारी, पत्रकार, विद्यार्थी र मेडिकलको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवश्यकताहरु पूरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । यस्तै, आफ्नै राशिमा शनिको बक्र गति, राशिस्वामी बृहस्पतिको समेत बक्रता र सातौं भावमा रहेको सूर्यको प्रभावले तपाईंले मानसिक रूपले तनावग्रस्त र अस्वस्थ रहनु पर्ने महिनाको आगमन भएको छ । यो समय एउटा कठिन कालखण्ड हो भन्दा अत्युक्ति नहोला । नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । परिवारमा मनोमालिन्य बढ्नाले ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्न सक्छ । आर्थिक दृष्टिकोणले यो समय कमजोर रहने छ । व्यापारमा घाटा हुने वा धनमाल हराउने÷चोरी हुने सङ्केत छ । त्यस्तै मुखमा अशुभताको वास छ, त्यसैले जोसँग जतिवेला बोले पनि शब्दलाई तौलेर प्रयोग गर्नु बुद्धिमानी हुनेछ । राशिस्वामी कमजोर भए पनि राज्यस्थानमा रहेकाले कडा परिश्रमपछि फाटफुट काम बन्ने सङ्केत पनि छ । सामान्यतया २, ३, ४, ११, १२, १३, २१, २२, २९, ३०, ३१, गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले गरिब र दुःखीहरूको सेवा गर्नुका साथै दैनिक रूपमा नारायण कवचको पाठ गर्नु तथा शनिवारका दिन पीपलको पूजा गर्नु राम्रो हुन्छ ।

मकर : मकर राशि भएकाहरुका लागि यो महिना उत्तम रहेको छ । छैटांै भावमा महिनाभर नै गोचर गर्ने सूर्यले शाहशी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरु पनि सहयोगी बन्नेछन् । नोकरिमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अदातल तथा न्यायलयबाट हुने निर्णयहरु तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तीको योग रहेकोछ । पढाइ लेखाइमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्रस्थानमा आउनेछ । बाधा विरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ । प्रेम बन्धनमा बाँधिने गतिलो सम्भावना रहेकोछ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनःमिलन हुने प्रशस्त सम्भावना रहेकोछ । नयाँ कार्ययोजना बनाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । राजनीतिकर्मी, समाजसेवी, पत्रकार, खेलाडी, विद्यार्थी तथा मेडिकल क्षेत्रसँग सम्वन्धित व्यक्तिहरुका लागि समय उत्तम रहेकोछ । तरपनि महिनाभरिनै शनिको मध्य साढेसातीको प्रभाव पर्ने हुँदा बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ । यता, यो महिना अत्यन्त उपयोगी छ । जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । व्यापार, नोकरी वा कारोबारमा धेरै गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । व्यापार र नोकरीको सिलसिलामा धेरै घुमफिर हुनेछ । गीतसङ्गीत एवं अन्य ललितकलाका विषयहरूमा र सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्ने छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवन सुखद् रहने छ । यद्यपि तपाईंको राशिस्वामी बाह्रौं भावमा र आफ्नै राशिमा मङ्गलग्रहको उपस्थिति भएकाले कतिपय ठाउँमा इच्छाविपरीत परिणाम आउन सक्छ, त्यसैले फलप्राप्ति प्रति धेरै उत्साह नदेखाउनु उचित हुनेछ । सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना पनि छ । सामान्यतया यस महिनाको ४, ५, ६, १३, १४, १५, २३, २४, २५, ३१, ३२ गते तपाईंका लागि अशुभ रहने छन् । शुभफलमा कमी आउन नदिन तपाईंले शनिमृत्युञ्जय स्तोत्रको पाठ र भगवान् शिवको आराधना गर्नु राम्रो हुनेछ ।

कुम्भ : यो महिनामा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनसक्छ ध्यान दिनुहोला । समयमा काम नसकिने तथा बौद्धिक व्यक्तित्वसँग सैद्धान्तिक राय बाझिनेछ । शनिको आध्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले स्वास्थ्यमा पेट तथा श्वास प्रश्वास सम्बन्धी पुराना बिरामीहरुले विशेष ध्यान दिनु जरुरी छ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तापनि बुध, शुक्र तथा अन्य ग्रहको अनुकुल प्रभावले राननीति तथा समाजसेवमा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो योग बनेकोछ । लेखन, कला तथा सहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समयले साथ दिनेछ । भूमि तथा पैत्रिक धन प्रयोग गरी मनग्गे धन सम्पती कमाउन सकिनेछ । यस्तै, असार महिनामा तपाईंको मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ । मित्र र शुभचिन्तकले पूर्ण सहयोग गर्नेछन् । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ । निकटतम नातेदारका बारेमा कुनै राम्रो खबर प्राप्त हुन सक्छ । तर राशिस्वामी शनिश्चर बक्री रहेकाले विपरीत लिङ्गीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन । वासनाजन्य विचारले दुःखित तुल्याउने मात्र होइन, यसले अपमानित पनि बनाउन सक्छ । स्वास्थ्यसम्बन्धी समस्याका कारण दिनचर्यामा पनि अवरोध आउने छ । सनक र उन्मादबाट प्रेरित भएर गरेको कामकाजबाट हानि पुग्नेछ र गहिरो सङ्कटमा फँस्न सक्नुहुन्छ । सामान्यतया यस महिनाको ६, ७, ८, १६, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा शुभफललाई अझ व्यवस्थित र लाभदायक तुल्याउन माता बगलामुखीको उपासना गर्नु वा दैनिक रूपमा दुर्गा कवच, दुर्गा चालिसा वा देवीको कुनै मन्त्रको नियमित जाप गर्नु राम्रो हुन्छ ।

मीन : यो महिना सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । राजनीतिकर्मी, समाजसेवी तथा घर जग्गाको व्यापारीहरुका लागि समय मध्ययम रहेकोछ । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । छाती सम्बन्धी तथा श्वास प्रश्वास र मुटु सम्वन्धी समस्या आउन सक्छ, ध्यान दिनुहोेला । बुध, शुक्र तथा मंगलको प्रभाव भने अनुकुल रहने हुनाले राज्य संयन्त्रको नजिक जस्तै निजामती, फौजी तथा संस्थानमा र प्राईबेट कम्पनीहरुका काम गर्नेहरुका लागि समयले साथ दिनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलासी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पती जोड्न सक्नेछन । उपहार तथा चिठ्ठा प्राप्तीको गतिलो योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । यस्तै, चौथो घरमा रहेको सूर्य र आठौं भावमा बक्री अवस्थामा रहेको राशिस्वामी बृहस्पतिका कारण अहिले समय तपाईंको प्रतिकूलमा रहेको देखिन्छ । असार महिना कडा मिहिनेत र परिश्रम गर्ने समय हो । पेसा वा व्यवसायसँग सम्बद्ध परिवर्तन गर्न खोज्नु हानिकारक हुन्छ । प्रत्येक क्रियाकलापमा संलग्न हुँदा धैर्य गर्नु अनिवार्य छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । मस्तिष्कलाई आराम हुनेछैन । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । घरायसी र पारिवारिक वातावरण सुखद रहने छैन । सवारी साधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । तर भाग्येश मङ्गलको शुभ प्रभाव छ, त्यसैले आय आर्जनका मार्गमा बढोत्तरी हुनेछ तर विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ । सामान्यतया यस महिनाको १, २, ८, ९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् । यस अवधिमा हुने अशुभफलको प्रवाहलाई कम बनाउन तपाईंले भगवान् नारायणको पूजाआजा गर्ने र हनुमान चालिसा वा दुर्गाकवचको पाठ गरेमा राम्रो हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ