arrow

आईसीसी विश्वकप छनोट

नेपालले जिम्बाब्वेलाई दियो २९१ रनको चुनौती, कुशलको ९९ रन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
nepal-zimbabwe-2023-06-18a.jpeg

काठमाडौँ । भारतमा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजबाट जिम्बाब्वेमा शुरु भएको छ । पहिलो खेलमा नेपालले आयोजक जिम्बाब्वेसँग खेलिरहेको छ ।  

हरारे स्पोर्टस् क्लबमा जारी खेलमा जितका लागि नेपालले जिम्बाब्वेलाई २९१ रनको चुनौती दिएको छ । 

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २९० रन बनाएको हो । नेपालको यो एक दिवसीय क्रिकेटमा सर्वाधिक तेस्रो ठूलो योगफल हो । 

नेपालले उत्कृष्ट शुरुआत गरेको भए पनि मध्यक्रमको ब्याटिङ साझेदारी हुन नसकेपछि २९० रनमै समेटिएको हो । 

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरे । ३१.५ ओभरमा १७१ रन बनाएको भए पनि त्यसपछि खेलाडीहरुबीच राम्रो साझेदारी हुन सकेन । 

कुशल भुर्तेल ९९ रन बनाएर आउट भए । उनले एक दिवसीयमा दोस्रो शतक बनाउन सकेनन् । उनले ९५ बलको सामना गरेका थिए । उनले २ छक्का र १३ चौका हानेका थिए । 

त्यस्तै आसिफ शेखले १०० बलमा ६६ रन बनाए । कुशल मल्लले ४२ बलमा ४१ रन जोडे । कप्तान रोहित पौडेलले २९ बलमा ३१ रन जोडे । रिचार्ड एनगाराभाले ४ विकेट लिए । 

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिममा सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम शार्की, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख र गुल्सन झा रहेका छन् । 

रोहित जारी विश्वकप छनोटका सबैभन्दा कम उमेरका कप्तान हुन् । 

नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त राष्ट्रसँग एक दिवसीय विश्वकप छनोटमा खेलिरहेको हो । 

यो नेपालको टेष्ट राष्ट्रसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल पनि हो । 

नेपाल र जिम्बाब्वेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ । सन् २०१८ को ४ मार्चमा जिम्बाब्वेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो । 

त्यो बेला नेपालसँग एक दिवसीय मान्यता थिएन । उक्त खेल लिस्ट ए मान्यताको भएको थियो । सो खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

समूह ए मा रहेको नेपालको अर्को खेलमा अमेरिका र वेष्ट इन्डिज भिडिरहेका छन् । खेलमा वेष्ट इन्डिजले पहिले ब्याटिङ गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ