arrow

कांग्रेस धादिङ समितिको रक्तदानमा ६९ युनिट रगत सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
congress dhading samiti pokhara.jpg

पोखरा । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशसभा सदस्य गोविन्द लम्सालले पोखरामा रहेका धादिङवासीको सामाजिक भावनाले सिङ्गो पोखरा र धादिङलाई शिक्षा दिएको बताएका छन् । 

नेपाली कांग्रेस, धादिङ-पोखरा सम्पर्क समितिद्वारा पोखरामा आयोजित रक्तदान कार्यक्रम शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । 

उनले समग्र धादिङको विकासमा धादिङवासीको एकता र हातेमालो आवश्यक हुने भन्दै यसका लागि धादिङ समितिको प्रमुख भूमिका हुने स्पष्ट पारे । नेपाललाई समुन्नत राष्ट्र बनाउन गरिबी, भ्रष्टाचार र अशिक्षालाई निर्मूल पार्नुपर्नेमा सांसद लम्सालले जोड दिए । 

नेपाली कांग्रेसका युवा नेता मोहन पण्डितले युवा जगतमा व्याप्त निराशा र बरालिएको मनलाई सम्हाल्न पार्टीले ध्यान दिनुपर्नेमा जोड दिए । उनले पार्टीले रुपान्तरणमार्फत नागरिकको समस्या समाधान गर्दै ठूलो पार्टीको गरिमा जोगाउनुपर्ने समय आएको बताए ।

नेकपा एमाले धादिङ-पोखरा सम्पर्क मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीले कांग्रेसले सामाजिक सेवा गरेर धादिङबाट पोखरा आएकाहरुलाई अगुवाई गरिरहेको बताए । 

प्रादेशिक रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीले रगतदान गर्दा कोलेस्ट्रोल, रक्तचाप तथा सामान्य रोगको प्रतिरोध क्षमता वृद्धि हुने भन्दै स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सकिने बताए । 

धादिङ त्रिपुरा बाराही महिला समूहकी अध्यक्ष बबिता मल्लले धादिङवासी बीचको एकता आजको आवश्यकता भएको बताइन् । 

समितिका सभापति कमलबहादुर पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपसभापति एवं कार्यक्रम संयोजक माधव लम्सालले स्वागत र कार्यक्रमबारे प्रकाश पारेका थिए भने सचिव श्याम इटनीले सञ्चालन गरेका थिए । 

प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ६९ युनिट रगत संकलन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ