arrow

विश्वकप छनोट क्रिकेट

अमेरिकालाई जित्न नेपालले २०८ रनको चुनौती पछ्याउँदै, करणलाई चार विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
cricket-nepal-2080-03-05.jpg

काठमाडौँ । जिम्बाब्वेमा जारी आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अमेरिकासँग खेलिरहेको छ । 

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपालले जितका लागि २०८ रनको चुनौती पछ्याउँदै छ । 

यसअघि टस जितेर पहिले बलिङ गरेको नेपालले अमेरिकालाई २०७ रनमा रोेकेको थियो । अमेरिका ४९ ओभर खेल्दै सबै विकेट गुमाएर २०७ रनमा रोकिएको हो । 

कमजोर शुरुआत गरेको अमेरिकालाई शायन जहांगिरले सम्मानजनक योगफलसम्म लगेका हुन् । उनले ७९ बलमा अविजित रहँदै १०० रन बनाए । त्यस्तै शुशान्त मोदानीले ४२ रन बनाए । त्यसबाहेक दुई खेलाडीले मात्र दोहोरो स्कोर जोडेका थिए ।   

खेलमा ओपनिङ बलर करण केसीले सनसनीपूर्ण बलिङ गरेपछि अमेरिका निरीह जस्तै भएको हो । अमेरिकाले १८ रन जोड्दा शुरुआती ४ विकेट गुमाएको थियो । 

शुरुआती चार वटै विकेट करण केसीले लिएका हुन् । उनले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिएका हुन् । 

त्यस्तै गुल्सन झाले ३, दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले भने लगातार दोस्रो खेलमा विकेट लिन सकेनन् । 

पहिलो खेलमा पराजित भएको नेपालले अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ । अमेरिका पनि सोही सोचका साथ मैदानमा उत्रने छ । 

पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । 

दुवै टोली पहिलो जितको खोजीमा रहने हुँदा खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखिएको छ । अको चरण प्रवेशको सम्भावनालाई कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । 

हेड टु हेड
आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल र अमेरिकाबीचको खेल पहिलो पटक हुन लागेको हो । एक दिवसीय अन्तराष्ट्रियमा भने नेपाल र अमेरिकाबीच छ पटक खेल भइसकेको छ । 

छ भेटमा नेपाल ३ पटक विजेता हुँदा अमेरिकाले २ पटक जितेको छ । एक खेल भने टाइ भएको छ । 

नेपाल र अमेरिकाबीचको पहिलो ओडीआई खेल विश्वकप लिग टु को नेपाल श्रृंखला अन्तर्गत भएको थियो । नेपाल र अमेरिकाबीचको पहिलो खेल सन् २०२० फेब्रुअरी ८ मा भएको थियो । सो खेल नेपालले ३५ रनले जितेको थियो । 

दोस्रो भेट सोही सिरिजको दोस्रो खेलमा भएको थियो । नेपालले ओडीआई इतिहासको कम योगफलमा अमेरिकालाई रोकेको थियो । अमेरिका १२ ओभरमा मात्र ३५ रन बनाउँदै अलआउट भएको थियो । सन्दीप लामिछानेले ६ ओभरमा १६ रन खर्चिएर ६ विकेट हात पारेका थिए । सुसन भारीले ४ विकेट लिएका थिए । यो खेल नेपालले ८ विकेटले जितेको थियो । 

तेस्रो भेट विश्वकप लिग टुको ओमान श्रृंखलाका क्रममा भएको थियो । सो खेल नेपालले ५ विकेटले जितेको थियो । 

चौथो भेट ओमान श्रृंखलाका क्रममा नै भएको थियो । २०२१ सेप्टेम्बर १७ मा भएको खेलमा अमेरिका ६ विकेटले विजयी भएको थियो । 

अमेरिकासँग नेपालको पाँचौँ भेट २०२२ जुन ११ मा भएको थियो । विश्वकप लिग टुको अमेरिका श्रृंखलाका क्रममा भएको खेल टाइ भएको थियो । दुवै टिमले २७४ रन बनाएका थिए । 

छैटौँ भेट सोही श्रृंखला अन्तर्गत भएको थियो । सो खेलमा अमेरिका ३९ रनले विजयी भएको थियो । 

यस्तो छ विश्वकप छनोटको प्रतियोगिता

जिम्बाब्वेमा जारी विश्वकप छनोटमा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, जिम्बाब्वे, अमेरिका वेष्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, यूएई र स्कटल्याण्ड छन् । 

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । 

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई प्रमुख दाबेदार मानिएको छ । जिम्बाब्वे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ । 

नेपाल, स्कटल्यान्ड र ओमान आईसीसी विश्वकप लिग टु मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र यूएई लिग टुबाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बाब्वे आईसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ