arrow

विश्वकप छनोट क्रिकेट

भीमको ब्याटिङ र करणको बलिङ चल्दा अमेरिकामाथि नेपालको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
cricket-nepal-usa-bhim-sharki.jpg

काठमाडौँ । जिम्बाब्वेमा जारी आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ । 

पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा मंगलबार अमेरिकामाथि ६ विकेटको सहज जित हासिल गर्न सफल भएको हो । 

हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा जितका लागि २०८ रनको सामान्य चुनौती पछ्याएको नेपालले ४३ ओभरमै ४ विकेट गुमाएर जित हासिल गरेको हो । 

नेपालका लागि भीम शार्कीले ११४ बलमा अविजित रहँदै ७७ रन बनाए । त्यस्तै पाँचौँ विकेटका लागि अविजित ७४ रनको साझेदारी गर्ने क्रममा दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ३९ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ५४ बलमा ३९, कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ तथा आसिफ शेखले १२ रन बनाए । 

यसअघि टस जितेर पहिले बलिङ गरेको नेपालले अमेरिकालाई २०७ रनमा रोेकेको थियो । अमेरिका ४९ ओभर खेल्दै सबै विकेट गुमाएर २०७ रनमा रोकिएको हो । 

कमजोर शुरुआत गरेको अमेरिकालाई शायन जहांगिरले सम्मानजनक योगफलसम्म लगेका हुन् । उनले ७९ बलमा अविजित रहँदै १०० रन बनाए । त्यस्तै शुशान्त मोदानीले ४२ रन बनाए । त्यसबाहेक दुई खेलाडीले मात्र दोहोरो स्कोर जोडेका थिए ।   

खेलमा ओपनिङ बलर करण केसीले सनसनीपूर्ण बलिङ गरेपछि अमेरिका निरीह जस्तै भएको हो । अमेरिकाले १८ रन जोड्दा शुरुआती ४ विकेट गुमाएको थियो । 

शुरुआती चार वटै विकेट करण केसीले लिएका हुन् । उनले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिएका हुन् । 

त्यस्तै गुल्सन झाले ३, दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले भने लगातार दोस्रो खेलमा विकेट लिन सकेनन् । 

यो जितसँगै नेपालले अर्को चरणमा पुग्ने दावेदारीलाई बलियो बनाएको छ । अमेरिकाले भने लगातार दोस्रो हार बेहोरेको छ । अमेरिकाले वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । 

यस्तो छ विश्वकप छनोटको प्रतियोगिता

जिम्बाब्वेमा जारी विश्वकप छनोटमा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, जिम्बाब्वे, अमेरिका वेष्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, यूएई र स्कटल्याण्ड छन् । 

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । 

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई प्रमुख दाबेदार मानिएको छ । जिम्बाब्वे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ । 

नेपाल, स्कटल्यान्ड र ओमान आईसीसी विश्वकप लिग टु मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र यूएई लिग टुबाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बाब्वे आईसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ