arrow

हरिनासमा विवाद, अध्यक्षले एकलौटी बजेट विनियोजन गरेको आरोप

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०८० असार ५ मंगलबार
harinas-gaupalika-2080-03-05.jpg

स्याङ्जा । हरिनास गाउँपालिकाको गाउँसभाको १३ औँँ अधिवेशनमा विवादमा परेको छ । गाउँसभामा अध्यक्ष खिमनारायण मानन्धरले एकलौटी बजेट विनियोजन गरेको आरोप लागेपछि विवादमा परेको हो । 

वडा अध्यक्षहरुले सिफारिस गरेका योजनाहरुसमेत बजेटमा नसमेटि मनोमानी ढंगले सभामा बजेट पेश भएको भन्दै वडाध्यक्ष र सदस्यहरुले सभा बहिस्कारसमेत गरेको जानकारी दिएका छन् । 

आर्थिक वर्ष २०८०–०८१ को बजेट पेश गर्ने गाउँसभामा स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत अपनाउनु पर्ने प्रक्रियासमेत नअपनाएर बहुमतको दम्भ देखाउँदै एकलौटी ढंगले बजेट पेस गरिएको आरोप उनीहरुको छ । 

वडा नम्बर १, २ र ५ का वडा अध्यक्षसहित १३ जनाले सदस्यले हस्ताक्षर गरेर बजेट पुनः संशोधन गर्न माग गरेका छन् । स्थानीय सरकार संचालन ऐनको दफा ७१ को व्यवस्थालाई कार्यन्वयन गरी बजेट संशोधन गरेर मात्रै गाउँसभा सम्पन्न गर्न उनीहरुले अनुरोध गरेका छन् । 

संशोधन नगरी यही सभाले बजेट पास गरेर कार्यन्वयनमा गएमा अन्य प्रक्रियामा जाने चेतावनीसहित उनीहरुले अध्यक्ष मानन्धरलाई ज्ञापनपत्र बुझाएका छन् । 
गाउँपालिकामा प्रतिपक्षको रुपमा रहेको गठबन्धनका जनप्रतिनिधिले वडाबाट सिफारीस गरेका कुनैपनि योजनालाई बजेटमा नसमेटिएको आरोप छ ।

वडाका जनताको चाहना विपरीत गाउँपालिका अध्यक्षले राजनीतिक आवरण देखाएर मनोमानी ढंगले प्रतिपक्षको कुनै सुनुवाई नगर्नु दुखद भएको वडा अध्यक्ष निर्मल लम्सालले बताए । 

उनका अनुसार आज पेश भएको बजेट संशोधन नगरेमा पालिकालाई दिइने योजनाको सिफारिसमासमेत रोक लगाइने जानकारी दिए । बेलाबेलामा विवादित बन्दै आएका गाउँपालिका अध्यक्ष मानन्धरले गत आर्थिक वर्षमा पनि बजेट विनियोजनमा विभेद गरेका थिए । 

गाउँपालिकाको १३ औँ अधिवेशनले झण्डै ४३ करोडको बजेट पेश भएको छ । गाउँपालिका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले १३ औँ अधिवेशनमा उक्त बजेट पेश गरेकी थिइन् । 

बजेटको पूर्णपाठ सुनाएपछि प्रतिपक्ष दल नेपाली काँग्रेस र नेकपा माओवादीका सदस्यहरुले सभा बहिष्कार गरी बाहिरिएका थिए । 

नेकपा एमाले पार्टीबाट पुनः दोस्रो पटक निर्वाचित भएका गाउँपालिका अध्यक्ष मानन्धरले आफ्ना पार्टीका कार्यकर्ताले माग गरेको आधारमा बजेट छुट्टाउँदै आएको आरोप लाग्दै आएको छ । 

हरेक विकास बजेटमा मनपरी खर्च गर्दै सदुपयोगिता भन्दा पनि कमाउ धन्दामा लिप्त रहेको आरोप स्थानीयले लगाउँदै आएका छन् । उनी हरेक पटक अख्तियारको नजरमा पर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ