- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो ईसेवा खातामा रहेको रकम एटीएम मेसिनमार्फत पनि सहजै झिक्न सक्ने भएका छन् ।
ईसेवाले हाल एभरेष्ट बैंकसँगको सहकार्यमा ईसेवा खातामा रहेको रकम एटीएमबाटसमेत झिक्न सकिने सेवाको शुरूआत गरेको हो । ईसेवामा रहेको रकम एटीएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन ।
ईसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै एटीएमबाट नगद रकम झिक्न सक्नेछन् । यसअघि ईसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो ।
तर अबदेखि एटीएममार्फत पनि रकम झिक्न सकिने भएपछि ईसेवा प्रयोगकर्तालाई झनै सहज हुनेछ । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक शुरूवात गरिएको हो ।
ईसेवामा रहेको रकम एटीएम मार्फत पनि झिक्न सकिने सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, ‘ईसेवा प्रयोगकर्तालाई ईसेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उदेश्यले हामीले एभरेष्ट बैंकसँगको सहकार्यमा एटीएमबाटै रकम झिक्न सकिने सेवाको शुरूआत गरेका हौँ । हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा सञ्चालन गर्दै आएका छौँ । तर कहिलेकाहिँ ईसेवामा रहेको रकम क्यासमा नै चाहिए पनि प्रयोगकर्तालाई सहज होस् भन्ने उदेश्यले हामीले यो सेवाको शुरूआत गरेका हौँ । हामी नेपाल सरकार र नेपाल राष्ट्र बैंकको क्यासलेस अर्थतन्त्र बनाउने अभियानमा निरन्तर लागिरहेका छौँ र लागि नै रहनेछौँ । जसका लागि आगामी दिनमा पनि हामीले सोही अनुसारका सेवा सुविधाहरू थप गर्दै जान प्रतिवद्ध छौँँ ।’
यस्तै कार्यक्रममा एभरेष्ट बैंकका डेपुटी सीईओ विजयकुमार शर्माले भने, ‘एभरेष्ट बैंक जहिले पनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर छ । यसै क्रममा ईसेवा जस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी पनि उत्साहित छौँ । ईसेवाका प्रयोगकर्ताले एभरेष्ट बैंकका देशभर रहेका कुनैपनि एटीएम मेसिनमार्फत सहजै रकम झिक्न सक्नुहुनेछ । हामी यो आशा गर्दछौँ की यसले नेपालभर रहेका ईसेवाका लाखौँ प्रयोगकर्तालाई धेरै सहज बनाउनेछ ।’
हाल ईसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।
ईसेवाबाट इन्स्योेरेन्स्को प्रिमियम भुक्तानी, स्कुल कलेजको शुल्क भुक्तानी, राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइजहाजको टिकट, बस टिकट, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न किसिमका सरकारी सेवाहरूको शुल्क भुक्तानी लगायतका करिब तीन हजार मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिने ईसेवाले जनाएको छ ।