arrow

विश्वकप छनोट क्रिकेट

नेपाल र वेष्ट इन्डिज मैदानमा, टस जितेर नेपाल फिल्डिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
cricket-nepal-west-indies-2023-06-22.jpg

काठमाडौँ । आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले वेष्ट इन्डिजसँग खेल्दैछ । विश्वकपको दुई पटकको विजेता (सन् १९७५ को पहिलो संस्करण र सन् १९७९ को दोस्रो संस्करण) वेष्ट इन्डिजसँग नेपालले पहिलो पटक एक दिवसीय क्रिकेट खेल्न लागेको हो । 

खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्दैछ । खेल जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुँदैछ । नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार ब्यहोरेको छ । पहिलो खेलमा नेपाल जिम्बाब्वेलाई राम्रो लक्ष्य दिए पनि बलिङ फितलो हुँदा ८ विकेटको हार बेहोरेको थियो । 

दोस्रो खेलमा भने नेपालले अमेरिकामाथि ६ विकेटको जित हासिल गरेको थियो । एक दिवसीय वरीयतामा नेपाल १४ औँ र वेष्ट इन्डिज १० औँ स्थानमा छ । नेपालले वेष्ट इन्डिजसँग खेल्न पाउनु ठूलो अवसर हो । 

यही अवसरको सदुपयोग गर्दै जिम्बाब्वेसँग गरेको गल्तीको पाठ सिक्दै नेपालले चामत्कारी प्रदर्शन गर्न सक्ने अनुमान भइरहेको छ । 

जसरी भारतीय मूख्य प्रशिक्षक मोन्टि देसाईले नेपाली टिमको प्रशिक्षण सम्हालेपछि टिमको मनोबल बढेको छ त्यसरी नै पहिलो पटक वेष्ट इन्डिजसँग खेल्दा पनि नेपाली टिम उच्च मनोबलका साथ मैदानमा उत्रने छ । 

नेपालले कुनै पनि विश्वकप विजेतासँग खेल्न लागेको यो पहिलो पटकसमेत हो । 

समूह चरणको अवस्था
समूह एमा रहेको नेपालको टिममा आयोजक जिम्बाब्वे, वेष्ट इन्डिज र अमेरिकासँगै नेदरल्याण्ड्स रहेका छन् । 

२ खेलबाट ४ अंकसहित जिम्बाब्वे सुपर सिक्स नजिक पुगेको छ । त्यस्तै १ खेलबाट वेष्ट इन्डिजको २ तथा २ खेलबाट नेपालको २ अंक छ । 

आजको खेल जित्दा नेपालले इतिहास त रच्ने छ नै सुपर सिक्समा पुग्ने लगभग पक्का हुनेछ । 

२ खेलबाट अंकविहीन अमेरिका चौथो तथा १ खेलबाट अंकविहीन नेदरल्याण्ड्स पुछारमा छ । 

आजको अर्को खेलमा अमेरिका र नेदरल्याण्ड्स खेल्दैछन् । यो खेलमा पराजित हुँदा अमेरिका सुपर सिक्सबाट बाहिरिने पहिलो टिम बन्नेछ । 

यदि नेदरल्याण्ड्स पराजित भयो भने अमेरिकाको पनि सम्भावना कायमै रहन्छ । यो समूहबाट जिम्बाब्वे र वेष्ट इन्डिजले सुपर सिक्समा लगभग स्थान बनाउँदा नेपाल, अमेरिका र नेदरल्याण्ड्समध्ये एक टिम सुपर सिक्समा पुग्दा दुई टिम बाहिरिने छन् । 

अर्को समूह
समूह बी मा २ खेलबाट ४ अंकसहित ओमान शीर्ष स्थानमा रहेको छ । १ खेलबाट २–२ अंकका श्रीलंका र स्कटल्याण्ड दोस्रो र तेस्रो स्थानमा छन् । 

२ खेलबाट अंकविहीन आयरल्याण्ड र यूएई पुछारमा रहेका छन् ।  

यस्तो छ विश्वकप छनोटको प्रतियोगिता

जिम्बाब्वेमा जारी विश्वकप छनोटमा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, जिम्बाब्वे, अमेरिका वेष्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, यूएई र स्कटल्याण्ड छन् । 

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । 

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई प्रमुख दाबेदार मानिएको छ । जिम्बाब्वे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ । 

नेपाल, स्कटल्यान्ड र ओमान आईसीसी विश्वकप लिग टु मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र यूएई लिग टुबाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बाब्वे आईसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ